द पब्लिक टुडे
ढल्केवर, भदौं १५ गते ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश समितिको छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार धनुषाको लालगढस्थित गौतम होटेलमा महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षता तथा बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीको प्रमुख आतिथ्यमा उक्त साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख क्षेत्रीले नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशले सञ्चालन गरेको घुमौं मधेश बुझौं मधेश अभियान पर्यटन प्रवद्र्धनमा निकै प्रभावकारी कार्यक्रम रहेको भन्दै त्यस अभियानको खुलेर प्रशंसा गरे ।
उनले होटल तथा पर्यटन क्षेत्र मधेश प्रदेशकै आर्थिक विकास र रोजगारी सृजनाको महत्वपूर्ण आधार बन्न सक्ने बताए । पर्यटन विकासका लागि निजी–सार्वजनिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय तह पनि पर्यटन प्रवद्र्धनमा साझेदार बन्ने प्रतिबद्धता जनाए । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघको भवन निर्माणका लागि बर्दिबासमा जग्गा उपलब्ध गराउन बर्दिबास नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख क्षेत्रीले बताए ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले होटल तथा पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न घुमौ मधेश बुझौ प्रदेश मार्फत पर्यटकिय गन्तब्यहरुको पहिचान गरिएको उल्लेख गरे । उनले प्रदेश तथा स्थानिय स्तरका समन्वयलाई अझ प्रभावकारी बनाउन महासंघ सक्रिय रहेको जनाए । उनले पर्यटन पूर्वाधार विस्तार, सेवा गुणस्तर अभिवृद्धि तथा आन्तरिक–बाह्य पर्यटक आकर्षणलाई प्राथमिकतामा राखेर महासंघले ८ वटै जिल्लामा काम गरिरहेको बताए । मधेश प्रदेशभित्र एकहजार भन्दा बढी होटल रहेको तथ्यांक देखाउँदै अध्यक्ष गौतमले मधेश प्रदेश सरकारले वेबसाइट बनाइरहेको र त्यसमा प्रदेशभित्रका सबै होटलहरुको लिस्टिङ् गरिने जानकारी दिए ।
होटल व्यवसायी समेत रहेका मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह(सन्तोष)ले पर्यटकलाई कुनै पनि बहानामा दुख दिने प्रवृति असह्य रहेको उल्लेख गरे । कतिपय होटलहरुमा अनैतिक क्रियाकलाप भइरहेको समाचारहरु बारम्बर मिडियाहरुमा आईरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष साहले केही होटल व्यवसायीका कारण समग्र होटल व्यवसायीहरुको प्रतिष्ठामाथि आँच आउने हुँदा त्यसलाई रोक्न सबैको सक्रियता आवश्यक रहेको औल्याए ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले सीमा क्षेत्रमा सबै प्रक्रिया पूरा गरेर नेपाल आउने भारतीय पर्यटकलाई चेकजाँचको नाममा ठाउँठाउँमा दुख दिएको टिप्पणी गरे । ‘भारतीय गाडी देख्नै नसक्ने कस्ता ट्राफिक प्रहरी ?,’ प्रश्न गर्दै अध्यक्ष कार्कीले भने ।
कार्यक्रमका अधिकांश वक्ताहरुले नेपाल भित्रिने भारतीय पर्यटकहरुलाई ट्राफिक प्रहरीले अनावश्यक दुख दिएको भन्दै आपत्ति जनाएका थिए ।
कार्यक्रममा मिथिला नगरपालिकाकी उपप्रमुख सुनितासिंह बुढाथोकी, नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका संरक्षक सल्लाहकार विजय झुनझुनवाला, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी लगायत संघका आठै जिल्लाका अध्यक्ष तथा होटल व्यवसायीहरुको उल्लेख्य सहभागीता रहेको थियो । आजको द पब्लिक टुडे दैनिकमा समाचार छ ।




