उम्मेदवारलाई चुनाव चिह्न प्रदान



कञ्चनपुर, माघ ९ गते ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै चुनाव चिह्न प्रदान गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ अनुसार अन्तिम नामावलीमा नाम कायम रहेका उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमार्फत चिह्न प्रदान गरिएको हो । जिल्लाका तीनवटै क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि कूल ५५ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन कार्यालयका अनुसार तीमध्ये ४४ जना विभिन्न राजनीतिक दलका प्रतिनिधि हुन् भने ११ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये कुनै पनि प्रतिस्पर्धीले नाम फिर्ता नलिएपछि सबै उम्मेदवारको प्रतिस्पर्धा कायम भएको हो ।

निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदका लागि १५ दल र चार स्वतन्त्र गरी १९ जनाबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन अधिकृत दामोदर घिमिरेका अनुसार स्वतन्त्र उम्मेदवार अनिल रानालाई क्यामेरा, रुपादेवी विष्टलाई चेसगोटी, मञ्जुदेवी सुनारलाई तिलहरी र यादव सिंहलाई झोला निर्वाचन चिह्न प्रदान गरिएको छ ।

निर्वाचन क्षेत्र नं २ मा पनि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार १५ दलका र चार स्वतन्त्र उम्मेदवारलाई चिह्न वितरण गरिएको छ। यहाँ स्वतन्त्र प्रतिस्पर्धी सिद्धराज जोशीले भँगेरा, हरिशबहादुर भट्टले कैँची, वीरेन्द्र रानाले सिरिन्ज र भानुभक्त बोहराले आँप निर्वाचन चिह्न प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं ३ मा १७ जनाको उम्मेदवारी कायम भएको छ। तीमध्ये १४ दलका र तीन स्वतन्त्र उम्मेदवार छन्। स्वतन्त्रतर्फ थानेश्वर लेखकलाई डस्टबिन, वीरबहादुर क्षेत्रीलाई आँप र हर्कबहादुर ऐरलाई जीप निर्वाचन चिह्न प्रदान गरिएको छ।

निर्वाचन चिह्न प्रदान गरिएसँगै उम्मेदवारहरू आफ्नो चुनावी एजेण्डासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन्। चिह्न सुनिश्चित भएपछि जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी छलफल र प्रचारप्रसारका गतिविधिले तीव्रता पाएका छन्।

Scroll to Top