काठमाडौं, चैत १४ गते ।
पूर्वप्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा उत्रिएका केही एमाले कार्यकर्ताले रिपोर्टिङका लागि पार्टी कार्यालय पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।
एमाले सचिवालय बैठकको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरुले सोधेको प्रश्नप्रति पार्टी कार्यालय परिसरमै केही कार्यकर्ताले दुर्व्यवहार गरी क्यामेराहरू बाहिर निकाल्न खोजेका थिए ।
सचिवालय बैठकपछि नाराबाजी गरेको एमाले कार्यकर्ताले च्यासलस्थित करिडोर पुलमा टायर बालेर प्रदर्शन गरेका थिए । सोही प्रदर्शनमा फाटो–भिडियो खिचेको भन्दै एमाले कार्यकर्ताले पत्रकारमाथि हातसमेत हाल्दै गालीगलौज गरेका हुन् ।
मिडियामाथि आक्रमक देखिएका कार्यकर्ताले अनलाइनखबरका पत्रकार कौशल काफ्ले, प्रसुन संग्रौला र कान्तिपुरका पत्रकार दया दुदराजमाथि दुर्व्यवहार गरेका थिए ।
‘देश जल्दा तिमीहरूको क्यामेरा कहाँ थियो ?,’ पत्रकारमाथि हातपात गर्दै उनीहरुले भनेका थिए, ‘हिजो सिंहदरबार जल्दा तिमीहरुको फोन कहाँ थियो रु अहिले के खिच्न आएका हौ ?’
त्यसअघि पनि उनीहरूले केही पत्रकारलाई लखेटेका थिए । च्यासल पार्टी कार्यलयबाटै करिडोर पुलपारीसम्मै उनीहरुले लखेट्दै गालीगलौज गरेका थिए ।





