झापा, वैशाख ८ गते ।
कनकाई नगरपालिका–३ नयाँबस्तीमा आज दिउँसो भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–३ की ६८ वर्षीया मन्जुधरी ढकाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र १–०१–००१ ह८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना हुँदा ढकालसहित सात जना घाइते भएका थिए ।
घाइते सबैलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएकोमा ढकालको अपराह्न ४ः३५ बजे मृत्यु भएको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घाइते हुनेहरूमा हल्दिवारी–३ का ५७ वर्षीय जीवन ढकाल, ५० वर्षीया हरिमाया ढकाल, ३५ वर्षीया भिमा ढकाल र १३ वर्षीय रोजन ढकाल रहेका छन् । यस्तै, अटोमै सवार १३ वर्षीय प्रदीप नेपाल र मोरङ मिक्लाजुङ–६ का ३७ वर्षीय मोटरसाइकल चालक चन्द्रबहादुर खत्री घाइते भएका छन् ।
चालक र सवारी नियन्त्रणमा इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले अटो, मोटरसाइकल र अटो चालक हल्दिवारी–३ बस्ने ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





