महिला छनोट क्रिकेटः : सप्तरीद्वारा सर्लाही नौ विकेटले पराजित



राजविराज, जेठ १७ गते ।

राजविराजमा सञ्चालित मधेस प्रदेशस्तरीय यू–१९ तथा सिनियर महिला छनोट टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा सप्तरीले सर्लाहीलाई पराजित गरेको छ ।

सप्तरी क्रिकेट सङ्घको आयोजनामा राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको क्रिकेट मैदानमा शनिवार भएको खेलमा सप्तरीले सर्लाहीलाई ९ विकेटले पराजित गरेको हो ।

वर्षाका कारण खेल ढिलो सुरु भएपछि १० ओभरमा सीमित गरिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको सर्लाहीले ७ विकेट गुमाउँदै ३३ रन बनायो । सर्लाहीका लागि समृद्धि भुजेलले सर्वाधिक १८ रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ सप्तरीकी सुस्मिता यादवले तीन, साक्षी यादवले दुई तथा अपेक्षा यादव र बन्दना रजकले एक एक विकेट लिइन् ।

चौँतीस रनको सामान्य लक्ष्य सप्तरीले एक विकेट गुमाएर पूरा गर्यो । सप्तरीका लागि जेनिसा मगरले अविजित ११ र साक्षी यादवले अविजित ९ रनको योगदान दिइन् । सुस्मिता यादवले ८ रन बनाइन् । उत्कृष्ट खेल प्रदर्शन गरेकी सुस्मिता यादव ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

Scroll to Top