रवीन्द्र उप्रेती
बर्दिवास, जेठ १७ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ कान्तिबजार स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आइतबार १० जना छात्रा बेहोस भएका छन् ।
विद्यालय प्रशासनका अनुसार कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरू अत्यधिक गर्मीले गर्दा अचेत भएका हुन् । बेहोस भएका छात्रामध्ये ७ जनालाई कान्तिबजार स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । तीमध्ये ६ जनाको उपचारपछि घर पठाइएको छ भने टाउको दुख्ने र सास फेर्न गाह्रो भई गम्भीर अवस्थामा रहेकी एक छात्रालाई थप उपचारका लागि नगर अस्पताल गौशाला रेफर गरिएको विद्यालयले जनाएको छ ।
सामान्य अवस्थाका अन्य ७ छात्रालाई विद्यालयमै आराम गराएर अभिभावकको जिम्मा लगाइएको छ । कान्तिबजार स्वास्थ्य चौकीकी सिनियर अहेव निलम कुशवाहाका अनुसार उपचारका लागि आएका छात्राहरूमा न्यून रक्तचाप, जलविनियोजन (डिहाइड्रेसन), टाउको दुख्ने तथा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएका थिए ।
घटनापछि विद्यालयले छैटौँ पिरियडपछि पठनपाठन बन्द गरेको छ । विद्यालयका प्रधानाध्यापक रामस्नेही यादवले विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेकाले जस्तापाताको छानो भएका कक्षाकोठामा पढाइ सञ्चालन भइरहेको बताए ।
उनका अनुसार आइतबार करिब ३५ डिग्री सेल्सियस तापक्रम रहेको र बिहानैदेखि विद्युत् आपूर्ति अवरुद्ध हुँदा पङ्खा सञ्चालन हुन नसकेकाले कक्षाकोठामा अत्यधिक गर्मी महसुस भएको थियो ।
कक्षा १२ सम्म अध्ययन हुने उक्त विद्यालयमा करिब ८०० विद्यार्थी अध्ययनरत छन् ।
सङ्घीय सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि गौशाला नगरपालिकाले स्थानीय ऐनलाई टेकेर सामुदायिक विद्यालयमा आइतबार बिदाको व्यवस्था नगरेकाले नियमित पठनपाठन सञ्चालन गरिएको थियो ।
स्थानीयवासी तथा अभिभावकले बढ्दो गर्मीलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन समय व्यवस्थापन तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि आवश्यक उपाय अपनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।





