पोखरा महानगरको बजेट सात अर्ब १५ करोड



कास्की, असार ५ गते ।

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु सात अर्ब १५ करोड २५ लाख बजेट ल्याएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले आज पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बजेट कार्यक्रम प्रस्तुत गरिएको हो । चालु वर्षमा आठ अर्ब ३५ करोड १२ लाख बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको हो । आगामी वर्षको बजेट चालुको भन्दा एक अर्ब १९ करोड ८७ लाखले न्यून हो ।

बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट दुई अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान पाँच करोड ५० लाख, समपूरक अनुदान एक करोड ८२ लाख र सङ्घीय सरकार समानीकरण अनुदान ४९ करोड ३७ लाख रहेको छ । त्यसैगरी, गण्डकी प्रदेश सरकार समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदान र ४० लाख र समानीकरण अनुदान आठ करोड १५ लाख ३६ हजार अनुमान गरिएको उपप्रमुख गुरुङले जानकारी दिए ।

राजस्व बाँडफाँटबापत सङ्घीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट चार करोड नौ लाख ८६ हजार, राजस्व बाँडफाँट स्थानीय सरकारतर्फ एक अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार अनुमान गरिएको छ ।

महागनरको वित्तीय स्थायित्व कायम गर्दै राजस्व दायरा विस्तार, पर्यटकीय राजधानी पोखराको आर्थिक गतिविधि विस्तार गरी रोजगारी अभिवृद्धि र वातावरणमैत्री र दिगो सहरी विकास प्रवर्द्धन गर्नु बजेटका उद्देश्य रहेको उपप्रमुख गुरुङले बताउए ।

“चालु खर्चलाई वाञ्छित सीमाभित्र राख्ने, राजस्व सुधार योजना कार्यान्वयन, निजी क्षेत्रको लगानी आकर्षित, पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा आकर्षण गर्ने र आधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण बजेटका प्राथमिकता क्षेत्रहरू हुन्”, उपप्रमुख गुरुङले भने ।

महानगरले आगामी वर्षमा फिर्केखोला कोरिडोर पोखरा बसपार्क लगायतका महानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमित जग्गा संरक्षण र व्यवस्थापनका लागि १० करोड बजेट विनियोजन गरेको छ ।

महानगरले पूर्वाधार तथा सहरी विकासतर्फ ६१ सडक आयोजना पूरा गर्नका लागि ५५ करोड ५० लाख ६३ हजार विनियोजन गरेको छ । पोखरा सभागृह पुनर्निर्माणका लागि पाँच करोड छुट्याइएको छ । शिशुवा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि एक करोड २० लाख र गण्डकी बहुप्राविधिक शिक्षालयका लागि दुई करोड ६० लाख विनियोजन गरिएको छ ।

महानगरको फोहरमैला ढुवानी तथा व्यवस्थापनका लागि १५ करोड र प्रभावित क्षेत्रका लागि थप रु पाँच करोड बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । निर्माणाधीन तालचोक बेगनास सडकको बाँकी काम सम्पन्न गर्नका लागि १५ करोड २५ लाख विनियोजन गरिएको छ ।

यसैगरी, विपद् जोखिम न्यूनीकरण र पुनःस्थापनाका लागि तीन करोड २४ लाख, सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रमका लागि तीन करोड विनियोजन गरेको छ । महानगरले कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषिलाई आधुनिक व्यावसायिक र प्रतिस्पर्धी बनाउन तीन करोड ६८ लाख र उद्यम विकास, रोजगार सृजना तथा नवप्रवर्तनका लागि एक करोड २५ लाख छुट्याइएको छ ।

बजेट कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि ६० लाख, तथा खेल पर्यटनका लागि र ६६ लाख विनियोजन गरिएको छ । महानगरले चालु वर्षमा विनियोजित बजेटमध्येमा जेठ मसान्तसम्म जम्मा ४० प्रतिशत खर्च भएको जनाएको छ ।

चालुतर्फ तीन अर्ब ५१ करोड ३२ लाख ८९ हजार र पुँजीगततर्फ चार अर्ब ८३ करोड ७९ लाख ११ हजार अनुमान गरिएकामा चालुतर्फ दुई अर्ब १६ करोड ९७ लाख ५५ हजार र पुँजीगततर्फ एक अर्ब १७ करोड आठ लाख ६० हजारमात्र खर्च भएको उपप्रमुख गुरुङले बताए ।

Scroll to Top