परिवार नियोजन सेवाको गुणस्तर सुधारका लागि अभिमुखीकरण तथा समीक्षा



द पब्लिक टुडे
जलेश्वर, असार २० गते ।

महोत्तरीमा स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले ‘स्वास्थ्य कार्यक्रम विस्तार सम्बन्धी अभिमुखीकरण तथा समीक्षा कार्यक्रम’ सुरु भएको छ ।

शनिवारदेखि जलेश्वरस्थित नेपाल पत्रकार महासंघको सभाहलमा स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा सुरु भएको कार्यक्रम आगामी सोमबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा जिल्लाका १५ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्था इन्चार्जहरूको सहभागिता रहेको छ ।

स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार अभिमुखीकरणबाट सबै स्थानीय तहमा परिवार नियोजन सम्बन्धी कार्यक्रम कार्यान्वयनमा एकरूपता कायम हुनुका साथै सेवा प्रवाहमा प्रभावकारिता र नागरिकले पाउने स्वास्थ्य सेवाको गुणस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमबाट प्राप्त सुझाव, अनुभव र निष्कर्षलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समेट्दै जिल्लाको स्वास्थ्य प्रणालीलाई अझ सुदृढ, उत्तरदायी र नागरिकमैत्री बनाइने स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।

स्वास्थ्य कार्यालय महोत्तरीका निमित्त प्रमुख नवलकिशोर साहको अध्यक्षतामा सुरु भएको कार्यक्रमा परिवार नियोजन सेवा केवल जनसंख्या व्यवस्थापनको विषय नभई सुरक्षित मातृत्व, आमा–शिशुको स्वास्थ्य संरक्षण तथा परिवारको समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए । उनले प्रत्येक सेवाग्राहीसम्म गुणस्तरीय सेवा पु¥याउन स्वास्थ्यकर्मीलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गरे ।

स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन प्रतिभा सिंहले जिल्लामा सञ्चालित परिवार नियोजन कार्यक्रमको वर्तमान अवस्था, उपलब्धि, चुनौती तथा आगामी रणनीतिबारे छलफल हुने बताईन् ।

कार्यक्रममा परिवार नियोजन सुदृढिकरण, परिवार नियोजन सेवाबाट वञ्चित भएकालाई सेवामा पहुँच, सेवाको प्रभावकारिता र सर्वसुलभ बनाउने, स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री बनाउने, चाहना अनुसार परिवार नियोजन सेवा उपलब्ध गराउने, प्रजनन रुगता तथा बाझोपना सम्बन्धी कार्यक्रम विस्तार गर्ने, दीर्घकालीन तथा अस्थायी साधनको प्रयोग, सेवा प्रवाहमा देखिएका समस्या तथा समाधानका उपायबारे विस्तृत छलफल गरिने फोकल पर्सन सिंहले बताईन् ।

स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार यस कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षलाई आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समेट्दै जिल्लाभर परिवार नियोजन सेवाको पहुँच, गुणस्तर र प्रभावकारितामा उल्लेखनीय सुधार ल्याइने अपेक्षा गरिएको छ ।

कार्यक्रममा आसमान नेपाल/UNFPA को प्राविधिक सहयोगमा प्रशिक्षक रुपमा अमित कुमार सिंह रहेका छन् भने नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव राम नारायण महतो, पत्रकार विष्णु गुप्ता लगायतको स्वास्थयकर्मीहरुको उपस्थिती रहेको छ ।

Scroll to Top