द पब्लिक टुडे
गौशाला, असार २१ गते ।
महोत्तरी प्रहरीले ४८७ किलोभन्दा बढी गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र सोही गाउँपालिका–१ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन् ।
प्रारम्भिक बरामदपछि पक्राउ परेका उनीहरुको बयानका आधारमा गरिएको थप अनुसन्धानबाट ठूलो परिमाणमा गाँजा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेका अनुसार असार २० गते राति सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेक्वाको टोलीले महोत्तरी गाउँपालिका–१ भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा प्लास्टिकमा बेरेर राखिएको ४० किलो ३६० ग्राम गाँजा बरामद गरेको थियो । बरामद गाँजा तथा ट्रक आवश्यक कारबाहीका लागि महोत्तरी प्रहरीलाई बुझाइएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिको बयानका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो । त्यसक्रममा आज (आइतबार) बिहान महोत्तरी गाउँपालिका–४ रानी रतवाडास्थित एक घरमा खानतलासी गर्दा थप ४४६ किलो ७४५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । यससँगै बरामद गाँजाको कुल परिमाण ४८७ किलो १०५ ग्राम पुगेको डीएसपी गोलेले जानकारी दिए ।
बरामद गाँजा, ट्रक तथा पक्राउ परेका नेगी र थिङविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।





