कालीकोट, असार २४ गते ।
स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । माल्कोट गाउँको धाँचुकोटमा गच्चेकाटिया सिँचाइ कुलो निर्माण भएपछि सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो ।
रातिमाटादेखि धाँचुकोटसम्म सिँचाइ कुलो निर्माण भएपछि विगतमा सिँचाइ सुविधा नभएको बाँझो जमिनमा बालीनाली लगाउन थालिएको छ ।
खानेपानी तथा ऊर्जा विकास कार्यालय कालीकोटको आर्थिक लगानीमा पक्की सिँचाइ कुलो निर्माण भएको नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण रानामगरले बताए ।
“सिँचाइ कुलो निर्माणका लागि खानेपानी तथा ऊर्जा विकास कार्यालयको रु २० लाख लगानी भएको छ”, उनले भने, “सिँचाइ कुलो निर्माणले माल्कोट गाउँको सयौँ हेक्टर जमिनमा सिँचाइको सुविधा पुगेको छ ।”
वर्षौँदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले सिँचाइ कुलोबाट पानी आउन थालेपछि सहज भएको स्थानीय रामबहादुर बटालाले बताए । “सिँचाइ कुलो निर्माण भएपछि पहिलाको जस्तो जग्गा बाँझो राख्नुपरेको छैन”, उनले भने, “अहिले तरकारीखेती, अन्नबाली समयमा लगाउनका लागि सहज भएको छ ।”
सिँचाइ कुलो निर्माणले गाउँको उत्पादनसमेत वृद्धि हुने गच्चेकाटिया सिँचाइ कुलो निर्माण योजनाका अध्यक्ष ध्रुवबहादुर शाहीले बताए । “यसबाट करिब एक हजार घरपरिवार लाभान्वित भएका छन् । पाँच सय मिटर लामो सिँचाइ कुलो निर्माण भएको छ”, उनले भने, “सिँचाइ कुलो निर्माणका लागि अझै केही लगानी कम भएको छ ।”
सिँचाइ कुलो नहुँदा जमिन बाँझो राख्नुपर्ने समस्या रहेको अब कुलो निर्माणसँगै त्यो समस्या हटेकोे वडाध्यक्ष खाम्मबहादुर बटालाले बताए ।





