जनकपुरधाम, असार २४ गते ।
धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै दोस्रो लामो झोलुङ्गे पुल सञ्चालनमा आएपछि त्यस क्षेत्र पर्यटक गन्तव्यस्थलका रूपमा विकास र विस्तार भएको छ ।
पुल निर्माणपछि पछिल्लो समय दुवै जिल्लाका स्थानीयलाई एक अर्को जिल्लामा आवतजावत गर्न समेत सहज भएको छ ।
कमला नदीमाथिको झोलुङ्गे पुलबाट त्यस वरपरको मनमोहक दृश्यावलोकन गर्नेको पछिल्ला दिनमा भीड नै लाग्न थालेको छ । पुलबाट वरपरको दृश्य समेट्नेगरी टिकटक बनाउन र फोटो खिच्न तँछाडमछाड गरेको देखिन्छ ।
करिब एक हजार ५४४ मिटर लामो उक्त झोलुङ्गे पुलले धनुषाको जनकनन्दिनी गाउँपालिका–४ कठाल र सिरहाको सिरहा नगरपालिका–१३ मल्हनियालाई जोडेको छ ।
पुल निर्माणसँगै वर्षौँदेखि डुङ्गा तथा वैकल्पिक जोखिमपूर्ण माध्यम प्रयोग गरेर नदी वारपार गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको धनुषाको जनकनन्दनी गाउँपालिका–३ का सन्दीप साहले बताउनुभयो । सङ्घीय सरकारको रु २८ करोडको लागतमा निर्माण भएकोे थियो ।
निर्माण सम्पन्न भएर २०८० साल माघबाट पुल सञ्चालनमा आएपछि विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय तथा बजारसम्म पुग्न लाग्ने समय उल्लेख्य रूपमा घटेको छ ।
अहिले दैनिक ठूलो सङ्ख्यामा नागरिकले त्यस पुलमार्फत सहज रूपमा आवतजावत गरिरहेका छन् । पुल निर्माणपछि दुई जिल्लाबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई थप मजबुत बनाएको जनकनन्दनी गाउँपालिका–३ कै रोशन यादवको विश्वास छ ।
पुल निर्माणपछि छिमेकी मुलुक भारतको बिहारबाट आउने पर्यटकलाई समेत सहज पहुँच भएको छ । नजिकका धार्मिक तथा पर्यटकीय क्षेत्र घुम्न आउने भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेपछि स्थानीय होटल, रेष्टुरेन्ट, पसल तथा साना व्यवसायी उत्साहित भएको स्थानीय मोहम्मद इमामुलको भनाइ छ ।
हुलाकी सडकखण्डअन्तर्गत कमला खोलामा नवनिर्मित पुल भत्किएपछि झोलुङ्गे पुल कमलानदी वारपार गर्नेको सङ्ख्या पछिल्लो समय बढेको छ ।
“पहिले नदी तर्न डुङ्गामा निर्भर रहनुपर्ने अवस्था रहेकाले वर्षायाममा आवतजावत निकै कठिन हुने गरेको थियो”, इमामुलले भने, “अहिले पुल सञ्चालनमा आएपछि वर्षभरि सुरक्षित र सहज रूपमा यात्रा गर्न सहज भएको छ ।”
स्थानीय किसानले उत्पादन गरेका कृषि उपज, दुग्धजन्य वस्तु तथा अन्य सामग्री बजारसम्म पुर्याउनसमेत सहज भएको छ ।
यातायात खर्च र समय दुवै घटेकाले कृषक तथा साना उद्यमी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । पुल आसपासका क्षेत्रमा चिया पसल, होटल, किराना, फलफूल तथा अन्य साना व्यवसाय विस्तार हुन थालेका छन् । स्थानीयले पर्यटन र व्यापारसँग सम्बन्धित नयाँ व्यवसाय सञ्चालन गरेकाले रोजगारी सृजना र स्थानीय अर्थतन्त्रसमेत चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कमला नगरपालिका–६ का मनोज यादव उक्त पुललाई केवल आवतजावतमा मात्र सीमित नगराई दुई जिल्लाको विकास, सामाजिक एकता र आर्थिक समृद्धिको आधारका रूपमा लिइनुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार पुलबाट शिक्षा, स्वास्थ्य, कृषि, व्यापार र पर्यटनका क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछ ।
जनकनन्दी गाउँपालिकाका अध्यक्ष विपिनदेव यादवले उक्त झोलुङ्गे पुलको अधिकतम उपयोग गर्दै आसपासका क्षेत्रमा सडक, बजार, पर्यटकीय पूर्वाधार तथा अन्य सेवा विस्तारका कार्यक्रम अघि बढाइने बताए ।





