चितवन, असार २५ गते ।
चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर भरतपुर महानगरपालिका वडा नम्बर २३ मा दुई जनाको ज्यान लिएको जंगली भाले हात्ती ‘ध्रुवे’ दुई दिनदेखि बेपत्ता भएको छ ।
प्रायः निकुञ्जको सुखीभार क्षेत्रमा रहने ध्रुवेको खोजीका लागि निकुञ्जको टोली परिचालन गरिएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गणका सैनिकसहितको टोलीले खोजी जारी राखे पनि ध्रुवेलाई फेला पार्न सकेको छैन ।
घाँटीमा जडान गरिएको रेडियो कलरले समेत सिग्नल नदेखाएपछि हात्तीको अवस्थाबारे पत्ता लगाउन कठिन भएको निकुञ्ज स्रोतले जनाएको छ । निकुञ्जको कोर क्षेत्रमा हात्ती पुगेमा घाँटीमा जडान गरिएको रेडियो कलरले सिग्नल नदिने गर्छ । नेपाल टेलिकमको टावरको पहुँच भएको क्षेत्रमा पुगेपछि मात्रै सिग्नल देखाउने व्यवस्था छ ।
गत असार २० गते राति भरतपुर–२३ बेलहठ्ठामा सुतिरहेका बेला २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान लिएपछि निकुञ्जले ध्रुवेको घाँटीमा नयाँ रेडियो कलर जडान गर्ने र दाह्रा काट्ने तयारी गरेको थियो ।
ध्रुवेको गतिविधि निगरानी गर्न हाल प्रयोग भइरहेको जीपीएस रेडियो कलर हटाएर स्याटलाइट प्रणालीको नयाँ रेडियो कलर जडान गर्ने तयारी गरिएको निकुञ्जले जनाएको छ । नयाँ रेडियो कलरसमेत आइसकेकाले ध्रुवेलाई डार्ट (बेहोस) गरी त्यसैक्रममा दाह्रा काट्ने योजना निकुञ्जको छ ।
ध्रुवे जहाँ भेटिन्छ, त्यहीँ डार्ट गर्ने तयारीसहित निकुञ्जको टोली खोजीमा लागेको छ । दुई दिनदेखि खोजी गर्दा पनि ध्रुवे नभेटिएपछि प्रक्रिया ढिलाइ भएको निकुञ्जले जनाएको छ ।
‘ध्रुवे अति बाठो छ । आफूलाई कसैले पछ्याइरहेको वा खतरा महसुस हुनेबित्तिकै ऊ भाग्छ र सम्पर्कमा रहँदैन,’ निकुञ्जका एक अधिकारीले भने, ‘पहिला पनि सेनाले लखेटेको र गोली हानेको हुनाले उसले सैनिक पोसाक देख्नेबित्तिकै भागिहाल्छ । केही समय बेपत्ता नै हुन्छ ।’
ध्रुवेको आक्रमणबाट हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । २०७४ सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरी मारेपछि ध्रुवेले झन्डै नौ वर्षपछि यी दुई आमा–छोराको ज्यान लिएको हो ।
प्रायस् निकुञ्जको सुखीभार क्षेत्रमा रहने यो हात्ती अचानक बस्तीतर्फ निस्किएको थियो । घटनाको भोलिपल्ट ध्रुवे मेघौली क्षेत्रमा देखिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै मानवीय क्षति पुर्याउने हात्तीका रूपमा परिचित ध्रुवेले २०६८र०६९ सालतिर दैनिकजसो मानिसमाथि आक्रमण गर्न थालेपछि २०६९ साल पुस १ गते चितवनका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले यसलाई मार्ने आदेश दिएको थियो । तर, ध्रुवे नेपाली सेनाको गोलीबाट समेत बच्दै आएको छ ।
ध्रुवेले २०६९ सालको कात्तिकदेखि एक महिनाको अवधिमा माडी क्षेत्रमा मात्रै चार जनाको लगातार ज्यान लिएपछि यसलाई मार्ने निर्णय गरिएको थियो ।
वि।सं। २०६६ साल माघदेखि मानिसमाथि आक्रमण गरी ज्यान लिन थालेको ध्रुवेले २०६९ सालसम्म (करिब तीन वर्षको अवधिमा) १५ जनाको ज्यान लिएको थियो । चितवनको माडी क्षेत्रमा यसको आतंक अत्यधिक थियो ।
ध्रुवेलाई नियन्त्रणमा लिन तथा मार्ने अभियानका क्रममा त्यतिबेला १६ लाख रुपैयाँ खर्च भएको थियो । सेनाको गोलीबाट जोगिएपछि केही समय बेपत्ता भएको ध्रुवे पछि फेरि निकुञ्जको सुखीभार क्षेत्रमा देखिन थालेको थियो ।
पटक–पटक गरी २५ जनाको ज्यान लिइसकेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो निकुञ्जका अधिकारीहरुले बताएका छन् । उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।
दुई वर्षअघि पनि सो हात्तीको दाह्रा काटिएको थियो । दाह्रा काट्दैमा मानवीय क्षति कम हुनेमा चितवनवासीले शंका व्यक्त गर्दै आएका छन् ।





