जनकपुरधाम, असार २६ गते ।
मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारको कुल ४६ अर्ब ९८ करोड रुपैयाँ बजेटमध्ये २६ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको अर्थमन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारका अनुसार चालु खर्चतर्फ १५ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएकामा ९ अर्ब ४९ करोड रुपैयाँ अर्थात् ६०.६९ प्रतिशत खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ ३१ अर्ब ३४ करोड रुपैयाँ बजेटमध्ये १६ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ५४.१२ प्रतिशत खर्च भएको छ ।
खर्च विवरणले आर्थिक वर्षको अन्तिम चरणमा खर्चको गति उल्लेखनीय रूपमा बढेको देखिन्छ । जेठ १३ गतेसम्म प्रदेश सरकारले कुल ८ अर्ब ७६ करोड रुपैयाँ अर्थात् १८.६४ प्रतिशत मात्र बजेट खर्च गरेको थियो । त्यसयता करिब डेढ महिनाको अवधिमा खर्च १७ अर्ब ७० करोड रुपैयाँभन्दा बढीले वृद्धि भई असार २६ गतेसम्म २६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।





