काठमाडौं, असार २६ गते ।
सरकारले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको हो ।
केही दिनअघि नेपालमा दलाइ लामको जन्मदिन मनाउन सरकारले अनुमति दिएसँगै संसद्मा नेपाल एक चीन नीति विपरीत गएको हो रु भन्दै प्रश्न उठेको थियो ।
सोही प्रश्नको जवाफमा सरकारले नेपाल आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।
उनले नेपालले नेपालको भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरीत प्रयोग हुन नदिने बताए ।
उनले भने, ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग छ । हामी हाम्रो भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरीत प्रयोग हुन नदिने र नहुने विषयमा प्रतिबद्ध छौँ । सोही प्रतिबद्धता बमोजिम सरकारको नीति र सरकारको अडान यथावत छ ।’





