गोरखामा एकतिहाइ मात्र मल आपूर्ति



गोरखा, असार २८ गते ।

गोरखामा धान रोपाइँको मुख्य समयमा आवश्यक रासायनिक मलको एकतिहाइ मात्र आपूर्ति भएको छ । जिल्लामा आवश्यक तीन हजार ५०० मेट्रिकटन मलमध्ये हालसम्म एक हजार १०० मेट्रिकटन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ ।

कार्यालय प्रमुख कुलप्रसाद तिवारीका अनुसार प्राप्त मल कोटा निर्धारण गरी स्थानीय तहलाई उपलब्ध गराइएको छ । स्थानीय तहले समूह र सहकारीमार्फत किसानलाई मल वितरण गरिरहेका छन् ।

“हामीले मल ल्याएर कोटा छुट्याइ पालिकालाई उपलब्ध गराउँछौँ, पालिकाले समूह र सहकारीमार्फत किसानलाई वितरण गर्नुहुन्छ”, उनले भने, “तर केही स्थानमा सहकारीका सदस्यलाई मात्र मल वितरण गरिएको र अन्य किसानले मल नपाएको गुनासो पनि आएको छ ।”

रोपाइँ, गोडमेल र बाला लाग्ने समयमा मलको आवश्यकता बढी हुने भएकाले आपूर्ति बढाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उनले बताए ।

गोरखा नगरपालिका–१० छेपेटारका कृषक विष्णु पाठकले पर्याप्त मल नपाउँदा खेती गर्न समस्या भएको गुनासो गरियो । उनले तीन घण्टा लाइनमा बसेपछि पाँच किलो मात्र मल पाएको बताए ।

महादेवटारी सहकारी संस्थाकी अध्यक्ष शेल्चा तामाङका अनुसार छेपेटार टोलका करिब १५० कृषक परिवारलाई दामासाहीका आधारमा पाँच–पाँच किलो मल वितरण गरिएको हो । “१०० बोरा मल आएको भए सहज हुन्थ्यो, तर जम्मा १५ बोरा मात्र प्राप्त भयो”, उनले भने, “जति आएको थियो, सबैलाई पाँच–पाँच किलोका दरले बाँडेका छौँ ।”

पालुङ्टार नगरपालिका–१० मा धान रोपाइँ सुरु भएको करिब दुई सातासम्म पनि धेरै किसानले मल पाउन सकेका छैनन् । मागको तुलनामा आपूर्ति अत्यन्त न्यून भएकाले सबै किसानलाई वितरण गर्न नसकिएको वडा अध्यक्ष रिखीराज धौरालीले बताए ।

“हाम्रो वडामा चारदेखि ५०० किसान छन्, तर जम्मा ३२ बोरा मल आएको छ,” उनले भने, “दुई वटा सहकारीलाई १६–१६ बोरा उपलब्ध गराएका छौँ । उनीहरूले वितरण गरिरहेका छन् ।”

यसवर्ष चैतमा लगाइएको धान मरुवा रोगका कारण नष्ट भएको र अहिले मल अभावले किसान थप समस्यामा परेको उनको भनाइ छ ।

Scroll to Top