कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो



काठमाडौँ, साउन २२ गते ।

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा सङ्क्रमण पुष्टि भएका इबोला केसहरूको सङ्ख्या चार हजार ५३ जना पुगेको जनाइएको छ । तीमध्ये एक हजार ८५० जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूले भाइरसको अभूतपूर्व प्रकोपका बारेमा अनुसन्धान गरिरहेको जनाएका छन् ।

बुन्डिबुग्यो इबोला भाइरसको कारणले भएको यो प्रकोप विश्वव्यापी रूपमा रेकर्ड गरिएको दोस्रो सबैभन्दा ठूलो इबोला प्रकोप भएको जनाइएको छ भने सन् १९७६ मा देशमा पहिलो पटक भाइरस पहिचान भएदेखि कङ्गोमा सबैभन्दा ठूलो सङ्कट निम्त्याएको जनाइएको छ ।

सङ्क्रमण नियन्त्रणको प्रतिक्रिया जारी रहेको जनाइएको छ भने कङ्गोका अधिकारीहरूले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार बुधबारसम्म देशका इटुरी, उत्तर किवु, दक्षिण किवु, हाट–उले र सोपो प्रान्तका ५३ वटा स्वास्थ्य क्षेत्रमा सङ्क्रमित फेला परेका थिए । प्रकोपको केन्द्र इटुरी प्रान्तमा पुष्टि भएका केसहरूको ८६.९ प्रतिशत रहेको जनाइएको छ।

अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सिडिसी) का महानिर्देशक जिन कासेयाले पत्रकारहरुसँगको भर्चुअल साक्षात्कारमा प्रस्तुत गरिएको तथ्याङ्क र मृत्यु वास्तविकभन्दा कम भएको बताएका छन्।

भाइरसको उत्परिवर्तन भएको छ कि छैन भन्ने लगायतका अतिरिक्त कारकहरूले प्रकोपको गम्भीरता र द्रुत वृद्धिमा योगदान पुर्‍याइरहेका छन् कि छैनन् भनेर निर्धारण गर्न अध्ययन सुरु गरिने उनले बताए।

कासेयाका अनुसार नियन्त्रण प्रतिक्रियामा मुख्य कमजोरी कोषको अभाव मात्र नभई प्रभावित समुदायहरूलाई पर्याप्त रूपमा परिचालन गर्ने नसकिनु पनि रहेको छ। उनले पहिले केस पत्ता लाग्ने वित्तिकै परीक्षण र हेरचाहमा सजिलो पहुँच, अग्रपङ्क्तिका कामदारहरूलाई समयमै सहयोग र समुदाय नेतृत्वको प्रतिक्रियामा परिवर्तन गर्न आह्वान गरे ।

“सामुदायिक स्वामित्व प्रतिक्रियाको केन्द्रविन्दुमा हुनुपर्छ”, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बिहीबार सामाजिक सञ्जालमा डीआरसीको राजधानी किन्शासा भ्रमण गरेपछि भने।

खोप, उपचार रणनीतिहरू

बुन्डिबुग्यो इबोलाभाइरसले गर्दा हुने यो रोगका लागि हालसम्म कुनै पनि इजाजतपत्र प्राप्त खोप वा स्वीकृत विशेष उपचार निर्धारण गर्न नसकिएको जनाउँदै कासेयाले अधिकारीहरूले इटुरी र उत्तरी किभुका जनसङ्ख्यामा जाइर इबोलाभाइरस प्रजाति विरुद्ध विकसित र इजाजतपत्र प्राप्त खोप एर्भेबोको प्रयोग विस्तार गर्ने निर्णय गरी औपचारिक अध्ययन जारी रहेको बताए।

डब्लुएचओ आर एन्ड डी ब्लुप्रिन्टका कार्यवाहक प्रमुख वासी मूर्तिले मङ्गलबार जेनेभामा पत्रकार सम्मेलनमा एजेन्सीले एर्भेबोले प्रस्ताव गरेको सम्भावित क्रस–सुरक्षामा नयाँ अध्ययन तथ्याङ्ककोे पनि समीक्षा गरिरहेको बताए।

बुन्डिबुग्यो भाइरसलाई लक्षित गरी निर्धारण गरिएको खोपहरूमा पनि प्रगति भएको रिपोर्ट गरिएको छ। अक्सफोर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्युट अफ इन्डियाले विकास गरेको खोप जुलाई २४ मा बेलायतमा पहिलो चरणको क्लिनिकल परीक्षणमा प्रवेश गरेको थियो भने मोडर्नाले विकास गरेको दोस्रो खोप यस हप्ता क्यानाडामा पहिलो चरणको परीक्षण सुरु हुने अपेक्षा गरिएको छ।

डब्लुएचओले खोप इबोला प्रतिक्रियाको एक उपाय मात्र भएको बताउँदै निगरानी, प्रयोगशाला परीक्षण, सङ्क्रमण रोकथाम र नियन्त्रण, सुरक्षित सामुदायिक संलग्नताको माध्यामबाट प्रकोप नियन्त्रण गर्न आवश्यक रहेको विषयमा जोड दिएको छ।

Scroll to Top