काठमाडौं, साउन २२ गते ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका ३ वटा बँदेल मरेका छन् ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बँदेलहरूमा अफ्रिकन स्वाइन फिभर ९एएसफ० देखिएको छ ।
स्रोतका अनुसार १३ साउनमा स्याम्पल लिएर परीक्षण गरिएको थियो ।
चिडियाखानाका प्रवक्ता गणेश कोइरालाले उमेर पुगेका बँदेल मरेको दाबी गरे ।
उनले भने, ‘बँदेलमा बर्डफ्लु होइन, स्वाइन फिभर देखिएको हो ।’
चिडियाखानामा जनावरलाई छुट्टाछुट्टै राखिन्छ । बँदेललाई चिडियाखानाभित्र रोग कसरी सर्यो भन्ने प्रश्नमा प्रवक्ता कोइरालाले भने, ‘खुला खोर भएका कारण कागले बाहिरबाट सङ्क्रमित हड्डी वा मासु ल्याएर खसालेको हुनसक्छ । त्यहीबाट बँदेललाई सरेको हुनसक्छ ।’
प्रवक्ता कोइरालाले यो रोग एउटै प्रजाति (सुँगुर–बँदेल वर्ग) मा मात्र सीमित हुने र अन्य जनावरलाई नसर्ने भएकाले बाहिर ल्याइरहनु आवश्यक नठानिएको बताए ।
चिडियाखानामा दैनिक रुपमा जैविक सुरक्षा (बायोसेक्युरिटी) को काम निरन्तर भइरहेको उनले बताए । हाल चिडियाखाना पूर्णरूपमा खुला रहेको र त्यहाँ रहेका अन्य जनावर तथा अवलोकनकर्ताहरूका लागि कुनै पनि जोखिम नरहेको प्रवक्ता कोइरालाले बताए ।
जनस्वास्थ्यविद् तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी अफ्रिकन स्वाइन फिभर मान्छेलाई नसर्ने बताउँछन् । उनी भन्छन्, ‘यो सामान्तयाः बँगुरबाट बँगुरमा सरेको पाईन्छ । अहिलेसम्म मान्छेमा सरेको जानकारी छैन ।’





