काठमाडौं, साउन ३१ गते ।
नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरस्टोर’ अब चौबिसै घण्टा खुल्ने भएको छ ।
भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर भोलि सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याउन लागेको हो । भाटभटेनीले सुरुवातमा भक्तपुर, ललितपुर र काठमाडौंका एक–एक स्टोर चौबिसै घण्टा सञ्चालन गर्न लागेको हो ।
‘काठमाडौं उपत्यकाको यातायात ट्राफिक चाप र यात्रु सेवा हेरेर सुरुवातमा भक्तपुर राधेराधेस्थित सुपरस्टोर सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा आउने छ,’ भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भने, ‘त्यसपछि ललितपुर र काठमाडौंका एक–एक स्टोर पनि चौबिसै घण्टा चलाउँछौं ।’
पौडेलका अनुसार भक्तपुरको स्टोर चौबिसै घण्टा सञ्चालनमा आएको एक सातापछि ललितपुर कृष्णगल्लीस्थित स्टोर र भदौ तेस्रो सातापछि काठमाडौं टंगालस्थित स्टोर पनि यसैगरी चौबिसै घण्टा सञ्चालनमा ल्याउने तयारी छ ।
चौबिसै घण्टा सञ्चालनमा आउन लागेका सुपरस्टोरका पहिलो तलामात्र खुला हुनेछन् । पहिलो तलामा ग्रोसरी सामानमात्र उपलब्ध हुन्छन् ।
‘काठमाडौं उपत्यकाका तीन स्टोर चौबिसै घण्टा सञ्चालनमा आएपछि हामी पोखराको एक स्टोर पनि यसैगरी सञ्चालन गर्ने योजना छ,’ प्रमुख सञ्चालन अधिकृत पौडेलले भने, ‘यसले ग्राहक सुविधा थप बढ्ने विश्वास छ ।’
चौबिसै घण्टा स्टोर सञ्चालनका लागि भाटभटेनीले आफ्नो तर्फबाट सुरक्षा थप बढाएको जनाएको छ । पहिलो तला ९ग्रोसरी० मात्र सञ्चालन हुने भएकाले कर्मचारी पनि धेरै नचाहिने कम्पनीको भनाइ छ ।
राति पनि सञ्चालन हुने भएकाले प्रहरी प्रशासनलाई पनि यसबारे जानकारी दिइएको पौडेलले बताए ।
४२ वर्षअघि व्यवसायी मिनबहादुर गुरुङले काठमाडौं टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरका हाल देशभरि २७ वटा स्टोर सञ्चालनमा छन् ।
भाटभटेनीले वार्षिक ३२ अर्ब रुपैयाँ बराबर आम्दानी गर्दै आएको छ भने सबै स्टोरमा गरी २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
२३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका बेला भाटभटेनीका अधिकांश स्टोरमा आगजनी, लुटपाट र तोडफोड गरिएको थियो । जसबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबर क्षति भएको थियो ।
त्यति ठूला क्षति हुँदाहुँदै भाटभटेनीले एक जनाको पनि रोजगारी नखोसी पुनस् लगानी गरेर लगभग सबै स्टोर पुनस् सञ्चालनमा ल्याइसकेको छ ।





