काठमाडौं, भदौ ३ गते ।
रेडक्रस सोसाइटीमा भएको अनियमितताबारे १० वर्षपछि बल्ल अनुसन्धान अघि बढेको छ ।
जग्गा गायब पारिएको करिब २ करोड घोटाला प्रकरणमा १० वर्षपछि रेडक्रसका तत्कालीन पदाधिकारीहरू पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन ५ जना पदाधिकारीलाई पक्राउ गरेपछि यो प्रकरणको अनुसन्धान सुरु भएको छ ।
रेडक्रसका पूर्वअध्यक्ष उदयपुर कटारी नगरपालिका(३ का ७० वर्षीय सञ्जीव थापा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोट समुद्रटारका ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण नगरपालिका(५ का ५८ वर्षीय मदनकृष्ण फोजु र काठमाडौं बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी पक्राउ परेका छन् ।
रेडक्रसका लागि भक्तपुरमा जग्गा खरिद गर्दा उनीहरूले अनियमितता गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीका एआईजी उमा चतुर्वेदीले बताए ।
उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाका लागि मंगलबार नै जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
उनीहरूलाई ठगीसम्बन्धी कसुरमा म्याद थपका लागि अदालत लगिएको थियो । तर अदालतले म्याद थप नगरी थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले जानकारी दिए ।
७ आना जग्गा गायब
रेडक्रसका लागि गोदाम घर बनाउने भन्दै १० वर्षअघि जग्गा खरिद गरिएको थियो । जग्गा खरिदका लागि २२ भदौ २०७३ मा सूचना जारी गरिएको थियो । जसमा १० जनाले प्रस्ताव पेस गरेका थिए । प्रस्तावकर्ताको जग्गा निरीक्षण गरी प्रस्ताव पेस गर्न समिति गठन गरिएको थियो ।
जसमा राजेश देशमरुले पेस गरेको भक्तपुर वडा ४ (क) मा कित्ता नं. ८६३, ४९६, ४९७ र ५८१ को ५ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गरिएको थियो ।
यो जग्गा ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँमा खरिद गरिएको थियो । तर यो जग्गा नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल यकिन गराउँदा जग्गा नै अपुग भएको पाइएको सीआईबीका एसएसपी अनुपमशमशेर जबरा बताउँछन् ।
५ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गरेको भनिएकोमा फिल्डमा भने ५ रोपनी ६ आना २ पैसा १ दाम मात्र रहेको पाइएको छ ।
जसअनुसार खरिद गरिएको भनिएको जग्गामा ७ आना बढी जग्गा अपुग रहेको खुलेको छ ।
बिचौलियामार्फत २ करोड घोटाला
७ आना जग्गा मात्रै होइन, करिब २ करोड रुपैयाँसमेत घोटाला भएको पाइएको छ । यही जग्गा खरिद गर्दा बिचौलियामार्फत १ करोड ९३ लाख ७५० रुपैयाँ घोटाला भएको सीआईबीले जनाएको छ ।
जग्गा ६ करोड ३२ लाख ८१ हजार २५० मा खरिद गरिएको भनिएकोमा त्यसमध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियामार्फत घोटाला भएको सीआईबीको भनाइ छ ।
‘म सेवा गर्छुलाई आत्मसात् गर्दै निस्स्वार्थ रूपमा मानवीय सेवामा समर्पित रहन्छु’ भनी संस्थामा आबद्ध रहेका पदाधिकारी तथा कर्मचारीहरूले मानव जीवनको रक्षा, स्वास्थ्य प्रबर्द्धन र विपद्पछिको उद्धार तथा राहतका क्षेत्रमा संलग्न रहेको रेडक्रसलाई हानिनोक्सानी गराई ठगी गरेको’ सीआईबीको विज्ञप्तिमा उल्लेख छ ।
यसबाहेक रेडक्रसमा अन्य अनियमितता भएका विषयहरू पनि सार्वजनिक हुँदै आएका थिए । कतिसम्म भने, भूकम्प पीडितका लागि आएको सहयोगमा समेत घोटाला भएको विषय सार्वजनिक भएको थियो ।
रेडक्रसको अनियमितताबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक समितिसमेत गठन गरेको थियो । १० वर्ष भएको त्यही अनियमितताबारे अहिले अनुसन्धान अघि बढेको छ ।





