काठमाडौं, भदौ ८ गते ।
सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन आदेश दिएको छ।
सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले भदौ ४ गते प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन जिल्ला प्रहरी परिसर भक्तपुरलाई पत्राचार गर्न आदेश दिएको हो।
परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रसाईंको घरबाट ६ वटा मोबाइल, एउटा ल्यापटप र सिसिटिभीको रेकर्डर रहने डिभाइस नियन्त्रणमा लिएको थियो।
अनुसन्धान प्रयोजनका लागि नियन्त्रणमा लिइएको प्रहरीको दाबी थियो।
त्यस्तै नियन्त्रणमा लिइएका डिभाइसलाई फरेन्सिक जाँच गर्न केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।
प्रसाईंकी पत्नी उमाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
‘घरबाहिर प्रहरी आएर आफूलाई बाहिर निस्किन दिएनन्। स्थान हद तोकेजसरी राखेको बताउँदै बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो,’ सर्वोच्च प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले भने।
उक्त रिटमा सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो। इजलासले २४ घण्टाभित्र लिखित जबाफ पेस गर्न माग गरेको छ।





