विप्लव समूहसँग वार्ताको तत्काल कुनै सम्भावना छैन : मन्त्री पोखरेल

विराटनगर, चैत्र ११ गते । रक्षामन्त्री ईश्वर पोखरेलले विप्लव समूहसँग वार्ताको तत्काल कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको रक्षामन्त्री पोखरेलको भनाइ छ ।

विराटनगर बिमास्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको बताउनुभयो ।

‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ,’ रक्षामन्त्री पोखरेलले भन्नुभयो, ‘विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ ।’

विप्लव समूहले बम पड्काउने, मान्छे मार्ने जस्ता अनुचित काम गरेकाले सरकारले प्रतिवन्ध गरेको उहाँले दोहोर्‍याउनु भयो । तर, सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न भने नखोजेको उहाँले बताउनुभयो ।