काठमाडाैं, चैत्र ११ गते । कामदार लैजाने विषयमा नेपाल र जापानबीच श्रम सम्झौता भएको छ । नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको हो ।सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ ।
सम्झौतामा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सहसचिव डाक्टर रामप्रसाद घिमिरे र जापानकातर्फबाट नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब जापानले कोरियन मोडलमै नेपाली कामदार लैजाने भएको छ।
स्पेसिफिक स्किल्ड वर्कर अन्र्तगत नेपाली श्रमिकले पाउने पारिश्रमिक जापानी कामदारले सोही कामका लागि पाउने पारिश्रमिक सरह वा त्यो भन्दा पनि बढी हुनेछ । प्रत्येक कामदारलाई सहायता योजना अन्तर्गत जापानमा दैनिक जीवन यापन सम्बन्धी,अभिमुखीकरण भाषा सिक्नका लागि श्रमिकको बसाई र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा, गुनासो व्यवस्थापनका विषय समेत समेटिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम समझदारीले नेपाल र जापानको सम्बन्धलाई अझ उचाइमा पुर्याएको उल्लेख गरे । सरकारले लामो समयदेखि सुरक्षित र मर्यादित गन्तव्यमा नेपाली कामदार जान पाउन भनेर वकालत गर्दै आएकोमा यस खालको समझ्दारीले सहयोग पुर्याएको मन्त्री विष्टको भनाइ छ ।
जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ । भाषा परीक्षामार्फत् जापान जाने कामदारको न्यूनतम तलब २ लाख रुपैयाँ हुनेछ।
गत माघ २ गते नेपाल र जापानका प्राविधिक टोलिबीच कामदार पठाउने प्रक्रिया टुङ्ग्याउन भएको छलफलमा नेपालले सरकार मार्फत कामदार पठाउने प्रस्ताव राखेको थियो।