मधेशवादी दलले आफ्ना मुद्दा बिर्सिए : नेता पौडेल

File Photo

द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, चैत्र १३ गते
। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको वर्तमान सरकार ‘काम न काजको’ भएको आरोप लगाएका छन् । बुधबार धनुषाको सहिदनगर नगरपालिकामा भएको सभालाई सम्बोधन गर्दै नेता पौडेलले वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपाली नारा नाममै सीमित भएको आरोपसमेत लगाए ।

उनले भने, ‘यो सरकार आफू सुखी र आफ्नो पार्टीलाई मात्र समृद्ध पार्न लागि परेको छ ।’ मुद्दा र नीतिमा वर्तमान सरकार र मधेशवादी दल दुवै मधेशविरोधी रहेको पौडेलले दाबी गरे। कांग्रेसलाई तराई मधेशले नै जन्माएको बताउँदै पौडेलले भने, ‘तराई नेपाली कांग्रेसको प्राण हो र आगामी दिनमा यो सम्बन्ध अझ प्रगाढ बनेर जानेछ ।’

प्रधानमन्त्री ओलीलाई संकेत गर्दै पौडेलले भने, ‘अहिले समृद्ध मधेश बनाउन पानी जहाज होइन सिँचाइको आवश्यकता छ ।’ प्रधानमन्त्री ओलीको जालमा परेर सरकारलाई समर्थन गरेको मधेशवादी दलले संविधान संशोधनको मुद्दा बिर्सिएको पौडेलको भनाइ थियो । जनताको भावनामा खेलवाड गर्दै मधेशवादी दल सत्ता र कुर्सीमा रुमलिएको पौडेलको तर्क थियो ।

मधेशलाई समृद्ध बनाउन चुरे संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । कम्युनिष्ट सरकार कहिले पनि संघीयताको पक्षमा नरहेको जिकिर गर्दै नेता पौडेलले वर्तमान सरकार सबै निकायलाई आफ्नो मातहत ल्याउन उद्धत रहेको आरोप लगाए ।

Scroll to Top