द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, चैत्र १५ गते । एसईई अन्तर्गत शुक्रबार बिहान ८ बजेदेखि हुने अनिवार्य समाजिक अध्ययन विषयको नियमित तर्फको परीक्षाको प्रश्नपत्र प्रदेश २ मा परीक्षा अगावै बाहिरिएको पुष्टि भएको छ। शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक रामाकान्ता शर्माले प्रश्नपत्र बाहिरिएको पुष्टि गर्नुभएको हो ।

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारको अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ ।
परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि समाजिक विषयको परीक्षा स्थागित भएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिनुभयो । एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा यथावत रहने उहाँले बताउनुभयो ।
विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरेको थियो। राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।
छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्नपत्र सामाजिक सञ्जालहरुमा भाइरल बनेको थियो।

विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दो चिटहरु सप्तरी र सिरहामा फेला परेको थियो भने शुक्रबार हुने सामाजिक अध्ययन विषयको परीक्षाको प्रश्नपत्र जनकपुरबाट बिहीबार नै फेला परेको थियो ।
परीक्षा स्थगित भएको विरोधमा जनकपुरमा प्रदर्शन
एसइई अन्तर्गत शुक्रबार हुने समाजिक विषयको परीक्षा स्थगित भएको विरोधमा परीक्षार्थीहरुले जनकपुरमा प्रदर्शन गरेका छन् । प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएपछि आजको अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षा परीक्षा बोर्डले स्थगित गरेको छ ।

नियोजित रुपमा प्रश्नपत्र आउट गरेर परीक्षा स्थगित एवं रद्द गरी परीक्षार्थीलाई दुःख दिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन । विद्यार्थीको भविष्यसंग खेलबाड गरेको भन्दै जनकपुरको भानुचोकमा शुक्रवार विहान परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।