काठमाडाै, चैत्र २१ गते । संघिय सरकारले बारा र पर्सामा आएको विनाशकारी आँधीहुरीबाट प्रभावितको घर बनाइदिने भएको छ । सरकारले बारा पर्साका हुरी प्रभावितहरुका लागि घर बनाएर वर्षा अगावै हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश सरकारसँग समन्वय गरेर घर बनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।
प्रदेश २ सरकारले हुरी प्रभावितहरुलाई वर्षा अगावै प्रि-फ्याब घर बनाइदिने निर्णय गरेको थियो । अब केन्द्र सरकार र प्रदेश मिलेर घर बनाउनेछ । प्रभावितको घर बनाउने जिम्मा नेपाली सेनालाई दिने निर्णय पनि बैठकले गरेको छ । घर वर्षायाम अघि नै बनाइसक्ने सरकारको तयारी छ ।
घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरिएको बाँस्कोटाले जानकारी दिए ।

आइतबार राती आएको आँधीबाट २ हजार ४ सय चार घरमा क्षति पुगेको छ । बारामा १ हजार ८९५ घर र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका हुन् ।