निसन्तानपन समस्यालाई मध्यनजर गरी आइभिएफ सेन्टर सेवा सञ्चालनमा

चितवन, चैत्र २४ गते । भरतपुरस्थित चितवन मेडिकल कलेजले आइतबारदेखि टेष्ट ट्युव वेवी सेन्टर (आइभिएफ सेन्टर) सेवा सञ्चालनमा ल्याएको छ । सेन्टरको एक कार्यक्रमकाबीच उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन् । 

नेपालमा ठूलो समस्याको रुपमा रहेको निसन्तानपन समस्यालाई मध्यनजर गरी आइभिएफ सेन्टर सञ्चालनमा ल्याएको मेडिकल कलेजका प्रवन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार करिव ३ करोडको लागतमा अत्याधुनिक प्रजनन् संरक्षण सेवा प्रणाली सहितको टेष्ट ट्युव वेवी सेन्टर सेवा सञ्चालनमा ल्याइएको हो ।

अब निसन्तानपनको उपचार गराउन विदेश जानुपर्ने बाध्यता हटेको उनको भनाई छ । मेडिकल कलेजमा दैनिक रुपमा २ दम्पति निसन्तानपनसम्बन्धी समस्या लिएर आउने गरेको अस्पतालका स्त्री तथा प्रसुती विभाग प्रमुख डा उपेन्द्र पण्डितले बताए ।

सेन्टर स्थापना भएसँगै सन्तानका रहर भएका दम्पत्तिलाई बरदान सावित हुने डा पण्डितको भनाई छ। नेपालमा १५ प्रतिशत विवाहित उमेर समूहका दम्पतिमा निसन्तानपनसम्बन्धी समस्या रहेको बताइएको छ ।

मेडिकल सिटिको रुपमा अघि बढिरहेको चितवनमा अत्याधुनिक प्रजनन् संरक्षण सेवा प्रणाली सहितको टेष्ट ट्युव वेवी सेन्टर सेवा पहिलो पल्ट भित्रिएको हो।

Scroll to Top