सरकारले मधेशीहरुलाई विदेशी देख्यो: मिनेन्द्र रिजाल

सर्लाही, चैत २७ – नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले सरकारले दुई तिहाईको दम्भ देखाएर अनावश्यक काम गरिरहेको आरोप लगाएका छन् । बुधबार सर्लाहीको लालबन्दीमा आयोजित एक कार्यक्रममा नेता रिजालले यस्तो आरोप लगाएका हुन् ।

पूर्वमन्त्री समेत रहेका नेता रिजालले सरकारले मधेशीलाई विदेशी भन्ने गरेको अरोप समेत लगाए । उनले सरकारले मधेसीहरुलाई विदेशीको आरोप लगाएपनि काँग्रेसले मधेसीहरुलाई त्यस्तो व्यवहार नगर्ने बताए ।

अर्को एक प्रसंगमा उनले जन्मसिद्धले वंशजको आधारमा नेपाली नागरिकता पाउने बताउँदै मधेशीहरुले पनि सोही आधारमा नागरिकता पाउने काँग्रेसको धारणा रहेको बताए । उनले भने, ‘तर सरकारमा रहेका कम्युनिष्ट पार्टीका साथीहरुले मधेशीलाई विदेशी ठान्नुभो, त्यो मानसिकताका कारण समस्या आयो ।’

उनले जन्मसिद्ध नागरिकमाथि बन्देज लगाउने काम भैरहेको भन्दै जन्मसिद्ध नागरिकलाई समेत वंशजको आधारमा नेपाली नागरिकता पाउनुपर्नेमा सरकारले आन्तरिक गृहकार्य नै नगरी अनावश्यक काम सुरु गरेको अरोप लगाए । सरकारले ऐन, कानून तथा नीति नियम नबनाई हतारमा नागरिकता वितरणको काम सुरु गरेका कारण अहिले यो समस्या आएको नेता रिजालले बताए ।

नेता रिजालले काँग्रेसलाई महाधिवेशन लागेका कारण गुट उपगुट देखिएको बताए ।

Scroll to Top