रेश्माको परिवारलाई मन्त्री महासेठको सहयोग

 

द पब्लिक टुडे समाचारदाता
गौशाला, वैशाख ७ गते ।

धनुषामा बलात्कारपछि हत्या गरिएकी रेश्मा रसाइलीको परिवारलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आर्थिक सहयोग गरेका छन् ।

शनिबार धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित उनकै गाउँ पुगेर मन्त्री महासेठले रेश्माका बुबा देवनारायणलाई तत्कालका लागि नगद दस हजार रुपैयाँ प्रदान गरेका हुन् । आगलागीमा परेर घर गुमाएका देवनारायणले लगत्तै फागुनमा छोरी गुमाउनुपर्यो ।

आगलागीपछि घरबारविहीन भएको रसाइली परिवारलाई राहतस्वरुप नगद प्रदान गरिएको मन्त्री महासेठले जनाए । साथै उनले यही वैशाखभित्रै जस्तापाता लगाएको घर पनि निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् । साथै उक्त परिवारलाई गाँसबासको व्यवस्था आफूले गर्ने उनले जनाए ।

गत पुस २३ गते आगलागीबाट घरबारविहीन बनेका देवनारायणको परिवारमा उनकी ९० वर्षीया आमा सूर्यमाया र ११ वर्षकी छोरी दुतिया भनिने रेश्मा बस्थे । तर आगलागीको पीडा अलिकति बिर्सन नपाउँदै देवनारायणले आफ्नी छोरी गुमाउनुप¥यो । फागुन १ गते बटेश्वर–४ बैगाली टोलका २२ वर्षीय निरज जर्घा मगरले रेश्मालाई बलात्कारपछि जलाएर हत्या गरेका थिए । गाउँभन्दा पाँच सय मिटर पर रहेको उखुबारीमा जलाएको अवस्थामा उनको शव भेटिएको थियो ।

Scroll to Top