काठमाडौं, साउन ११ गते ।
सुनसरीमा सुरक्षाकर्मीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग छलफल थालेका छन् ।
गृहमन्त्री गुरुङले गृहसचिव राजकुमार श्रेष्ठल, नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायतसँग छलफल गरेका हुन् ।
सो छलफलपछि सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । कप्तानगन्जमा गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि भन्दै राति एउटा समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास र हवाई प्रहार गर्नु परेको प्रहरीको भनाइ छ । हवाई फायर गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको दाबी प्रहरीको छ ।
झडपमा घाइते भएका ८ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिकांशलाई गोली लागेको छ । झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् ।





