ग्याँस बोकेको बोलेरो जिप दुर्घटना हुँदा ४ जना घाइते



गुल्मी, साउन ११ गते ।

गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक खहरेस्थित तम्घास–पुर्कोटदह सडक खण्डमा ग्याँस सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था मध्यम रहेकाले थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) वीरेन्द्रवीर विश्वकर्माले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिहान करिब ८ बजे तम्घासबाट पुर्कोटदहतर्फ जाँदै गरेको ग३च ४५१८ नम्बरको एलपीजी ग्याँस सिलिन्डर बोकेको डबल क्याप बोलेरो सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा मालिका गाउँपालिका–३ काउले निवासी ३२ वर्षीया सीता थापाको अनुहारमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेकाले जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मकवानपुर हेटौंडा उपमहानगरपालिका–१८ निवासी २४ वर्षीय गौतम लोको बाँया हातमा चोट लागेको छ भने लमजुङको बेँसीशहर नगरपालिका–६ निवासी २६ वर्षीय अविलाल राउतको निधार र ढाडमा सामान्य चोट लागेको छ।

उनीहरूको अवस्था सामान्य रहेको छ । गाडीमा सवार ललितपुरको गोदावरी नगरपालिका–११ निवासी ४० वर्षीय कृष्ण दाहाल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको समयमा बोलेरोमा चालकसहित पाँच जना सवार थिए । चालक ललितपुरको गोदावरी नगरपालिका–१ निवासी २६ वर्षीय विशाल सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Scroll to Top