मन्त्रीको ‘पुष्कर’ मोहले सचिव सरुवा विवादित

 

राजकरण महतो
जनकपुरधाम, वैशाख २८ गते :
प्रदेश–२ को भौतिक पूर्वाधार मन्त्रालयमा सचिव हेरफेरले विवाद सिर्जना भएको छ। सचिवको जिम्मेवारीमा आएका नियाज वारिस दुई सातामै फेरिएपछि विवाद सिर्जना हो।

कार्यकक्षको ढोकामा सचिव वारिसको नेमप्लेट नलगाउँदै समान्य प्रशासन मन्त्रालयले बैशाख २४ गते उनको उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालयमा तानेको छ। उनको ठाउँमा उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालयबाट उप–सचिव पुष्करनाथ घिमिरेलाई सचिवको जिम्मेवारीमा खटाइएको छ।

वारिस सचिव हुनुअघि बैशाख १२ गते सचिव घिमिरेले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीबाट बिदा लिएर केन्द्र फर्किएका थिए। त्यसपछि उनको ठाउँमा वारिसले काम गर्दै आएका थिए। महिना दिनअघि वारिसलाई समान्य प्रशासन मन्त्रालयले सचिवको रुपमा मन्त्रालय पठाएको थियो। तर, उनले आन्तरिक विवादका कारण हाजिर गर्न पनि पाएका थिएनन्। सचिव वारिसलाई पाखा लगाउँदै भौतिक पूर्वाधार मन्त्रालयका मन्त्री जितेन्द्र सोनलले घिमिरेलाई फेरी फर्काएर ल्याएका थिए।

सचिव घिमिरेको सरुवाले रुष्ट बनेका मन्त्री सोनलले उनलाई दुई सातामै फर्काएको मन्त्रालयका एक कर्मचारीले जनाए। उनले भने,‘मन्त्री ज्यू उहाँको काम गर्ने शौली देखेर मोहित हुनुहुन्छ।’ सचिव घिमिरे पाँच महिना काम गरेर सरुवा भई उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालय गएका थिए।

मन्त्रालय गठन भएको १४ महिनामा भौतिक पूर्वाधार मन्त्रालयमा चार सचिव फेरिएका छन्। सचिव कौशाल किशोर झा, जीवच्छ मण्डल, पुष्करनाथ घिमिरे र नियाज वारिस फेरिएका छन्। मन्त्री सोनलको ‘पुष्कर मोहल’ले घिमिरे नयाँ सचिवको रुपमा फेरी आएका छन्।

आफुमाथि अन्याय भएको भन्दै सरुवामा परेका सचिव वारिसले न्यायको लागि समान्य प्रशासन मन्त्रालय पुगेका छन्। ‘संघीय सरकारले मलाई प्रदेश–२ को भौतिक पूर्वाधार मन्त्रालयमा समायोजपछि पदस्थापना गरेर पठायो’,काम गर्न नपाउँदै सरुवा हुँदा दुःख लागेको उनले गुनासो गर्दै भने,‘भनसुनमै सरुवा हुन्छ भने योग्ता क्षमता कहाँ देखाउने, दुःखको उपचार खोज्छौं।’

भौतिक पूर्वाधार मन्त्रालयमा सचिव विवादले काम गर्ने महौल नरहेको कार्मचारीहरु बताउँछन्। मन्त्रालयको माथिल्लो तल्लामा रहेको सचिवको कार्यकक्ष खाली छ। सचिव घिमिरेको नेमप्लेट भुँइमा फालिएको छ। सचिव वारिस बिदा लिएर न्याय खोजीमा संघीय सरकारको राजधानी काठमाडौं पुगेका छन् ।

‘संघीय सरकारले खटाएर फेरी प्रदेश–२ को भौतिक पूर्वाधार मन्त्रालयको सचिवको जिम्मेवारीमा आएको छु,’ सचिव घिमिरेले भने,‘मन्त्री जी को पुष्कर मोह बारे मलाई थाहा छैन। म कर्मचारी हुँ, सरकारले खटाएको ठाउँमा गएर काम गर्नु पर्ने मलाई मात्र थाह छ।’ बुझबुझार्थ नहुँदा सचिव घिमिरेले भने मन्त्रालयमा काम गर्न पाएका छैनन्।

‘सचिव सरुवा गर्ने अधिकार संघीय सरकारको छ। समान्य प्रशासन मन्त्रीलाई सचिव किन सरुवा भयो सोध्नुस्,’मन्त्री सोनल भन्छन्,‘सचिव सरुवा गर्ने अधिकार छैन।’ पुष्कर मोह बारे प्र्रश्न गर्न लाग्दा उनले आफु व्यस्त रहेको भन्दै मन्त्री सोनलले फोन काटे। अन्न्पूर्ण पोस्ट

Scroll to Top