प्राशासनिक संरचनाको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइयो

 

जनकपुरधाम, वैशाख ३० गते । प्रदेश सरकार र संघीय सरकारबिच कर्मचारी समायोजनलाई लिएर तिक्तता रहेको समयमा प्रदेशको प्रशासनिक संरचनाको विषयमा तयार पारिएको प्रतिवेदन मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको छ ।

निवर्तमान सचिव विद्याधर मल्लिकको संयोजकत्वमा गठित समितिले प्राशासनिक संरचनाको विषयमा तयार पारिएको प्रतिवेदन मुख्यमन्त्री राउतलाई बुझाएको हो । प्रदेश सरकारले कर्मचारी अभावका कारण कार्य सम्पादन गर्न कठिनाई भएको भन्दै प्रदेश सरकारले प्रदेशका लागि प्रशासनिक संरचना कस्तो हुनु पर्ने विषयमा प्रतिवेदन तयार पार्नका लागि २०७५ असार ११ गते विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको थियो ।

प्रतिवेदनमा उल्लेख भए अनुसार अहिले पनि प्रदेशको प्रादेशिक संरचना निर्माण हुन नसकेको प्रतिवेदन तयारकर्ता मल्लिकले बताए । उनले प्रदेशमा अहिले ५ हजार कर्मचारीको आवश्यकता रहेको बताए ।

प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राउतले संघ सरकारले प्रदेशमा सिकारु कर्मचारीहरु मात्रै पठाएकोले भएका कर्मचारीहरु समेत राम्ररी कार्य सम्पादन गर्न नसकेको गुनासो गरे ।

प्रदेशमा रहेका ६ मन्त्रालयहरुमध्ये एक मन्त्रालयमा मात्रै सचिव रहेको छ । भौतिक निर्माण तथा योजना मन्त्रालयमा रहेका पुष्करनाथ घिमिरेका अतिरिक्त अन्य कुनै मन्त्रालयमा सचिव रहेको छैन ।

Scroll to Top