राजपाका दुई केन्द्रीय सदस्य पुर्पक्षका लागि जेल चलान

 

राजविराज, जेष्ठ ६ गते । किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका राजपा नेपालका दुई केन्द्रीय सदस्यलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ ।

सोमबार भएको मुद्दा सुनुवाइका क्रममा बिपी यादव र हरि मण्डललाई कारागार पठाउने आदेश भएको हो।

बैसाख ५ गते पक्राउ परेका छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्वसासंद समेत हुन्। उनी रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए। राजगढ गाउँपालिका ३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य मण्डल स्थानीय शान्ति समितिका पूर्व संयोजक हुन्।

यसैगरी, सोही आरोपमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई ४ लाख र निर्माण सामग्री आपूर्तिकर्ता दिलीपकुमार दास र रापाका स्थानीय नेता रमानन्द ठाकुरलाई जनही दुई लाख ५० हजार धरौटीमा रिहा गरिएको छ।

यादव र मण्डलसहितको संलग्नतामा अग्निसाइर कृष्णसवरण गाउँपालिकाको लेटरप्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरिएको आरोपमा प्रहरीले सबैलाई पक्राउ गरी मुद्दा चलाएको थियो । साभार : नेपाल लाइभ

Scroll to Top