टुटेश्वरनाथ महादेव मन्दिरलाई बाणिज्य संघद्वारा रासन सहयोग



बर्दिबास, साउन १० गते ।

मधेशको कैलासका रूपमा परिचित महोत्तरीको बर्दिबास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा सञ्चालन भइरहेको श्रावणी बोलबम मेलालाई लक्षित गर्दै बर्दिबास उद्योग वाणिज्य संघले मन्दिरलाई रासन सामग्री सहयोग गरेको छ।

शनिबार आयोजित एक कार्यक्रमबीच बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कार्कीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवलाई चामल, दाल, तेललगायतका आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारी, व्यवसायी, स्थानीय समाजसेवी तथा मन्दिर व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो। सहयोगस्वरूप प्रदान गरिएको रासन सामग्री श्रावण महिनाभर मन्दिरमा आउने श्रद्धालु भक्तजन तथा साधुसन्तका लागि सञ्चालन हुने भण्डारामा प्रयोग गरिने जनाइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दीपक कार्कीले धार्मिक तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै टुटेश्वरनाथ महादेव मन्दिरमा सञ्चालन हुने सेवामूलक कार्यमा उद्योग वाणिज्य संघ सधैं सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवले श्रावणी बोलबम मेलाको व्यस्त समयमा गरिएको सहयोगले भण्डारा व्यवस्थापनमा ठूलो राहत पुग्ने भन्दै बर्दिबास उद्योग वाणिज्य संघप्रति आभार व्यक्त गरे।

श्रावण महिनामा टुटेश्वरनाथ महादेव मन्दिरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट दैनिक हजारौं बोलबम यात्री तथा श्रद्धालु भक्तजन दर्शन, पूजा–आराधना र जलाभिषेकका लागि पुग्ने गरेका छन्। उनीहरूको सुविधाका लागि मन्दिर परिसरमा भण्डारा, स्वास्थ्य, सुरक्षा तथा अन्य आवश्यक व्यवस्थापनसमेत गरिएको छ।

Scroll to Top