प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’

जीतपुर, ८ जेठ (रासस)ःजिल्ला प्रहरी कार्यालय कपिलवस्तुको झण्डै सात महिनादेखि सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ जिल्लामा प्रभावकारी देखिएको छ ।

अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका छन् । प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईले बताउनुभयो ।

गत कात्तिक ११ गते ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा सञ्चालन गर्ने गरी नेपाल प्रहरीले उक्त अभियान देशैभरि एकसाथ शुरु गरेको थियो ।

वैशाख महिनामा मात्र १६ कार्यक्रम विभिन्न ठाउँमा सम्पन्न भएका छन् । अभियानअन्तर्गत जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले विद्यार्थीलाई लक्ष्य गरी सडक सुरक्षा, लागुऔषध दुव्र्यसन, बालविवाह तथा बाल यौन दुव्र्यहारसम्बन्धी प्रशिक्षण विद्यालय सम्पर्क कार्यक्रममार्फत गरिरहेका छौँ ।” कार्यक्रम सञ्चालनपछि नागरिक जागरुक भएर गाउँमा हुने घटनाको जानकारी दिन थालेको उहाँको भनाइ छ । यसबाट आपराधिक क्रियाकलाप र सामाजिक विकृति अन्त्य गर्न सहयोग पुग्नेछ । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रमा लागूऔषध प्रयोग र ओसारपसार विकराल बनिरहेका बेला यस किसिमका सचेतनामूलक कायक्रम सञ्चालन गर्न थालेपछि अन्य विद्यालय तथा समुदायबाट आफ्नो क्षेत्रमा पनि कार्यक्रम गरिदिन भन्दै माग बढिरहेको उहाँको भनाइ छ ।

प्रहरीले यो अभियान सञ्चालन गर्न जिल्लास्तरीय एउटा र १० वटै स्थानीय तह, प्रत्येक वडाका साथै टोल संस्थामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन संयन्त्र पनि गठन गरेको छ । प्रहरीसँगको साझेदारी सम्झौतानुसार आवश्यक सहयोग गर्दै आएको वाणगङ्गा नगरपालिकाका प्रमुख मङ्गलप्रसाद थारुले बताउनुभयो । प्रहरीले यस किसिमका कार्यक्रमलाई बढावा र निरन्तरता दिनसके सुरक्षित र शान्त समाज निर्माणमा टेवा नगरपालिकाका उपप्रमुख चक्रपाणि अर्यालले विश्वास व्यक्त गर्नुभयो । किशोरीलाई यौनहिंसाबाट स्वयं जोगिन र सक्षम बनाउन जिल्लामा किशोरी आत्मरक्षा तालीम पनि सञ्चालन भएको छ ।

अस्पताल, धार्मिकस्थल तथा विभिन्न बजारमा समुदायसँग मिलेर सरसफाइ कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय, समुदाय प्रहरी साझेदारी शाखाले जनाएको छ । दुर्घटना नियन्त्रण गर्न पनि सडक सुरक्षा कार्यक्रम भइरहेको प्रहरी सहायक निरीक्षक सुदीप भण्डारीले जानकारी दिनुभयो ।