चितवन, जेठ ८ गते : चितवनको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी पक्राउ परेका छन्। जेठ ३ गते टिकौलीमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा हुलदंगा गर्दा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीको फरार सूचीमा रहेका रेग्मी बुधबार पक्राउ परेका हुन्।
हुलदंगा र आगजनीका क्रममा असई कल्पना खड्का घाइते भएकी थिइन। हुलदंगापछि प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा रेग्मीलाई बुधबार दिउँसो नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिए। उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
प्रहरीको फरार सूचीमा रहेका रेग्मी बुधबार दिउँसो आफूलाई पक्राउ नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए। प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कानुन अनुसार प्रक्रिया अगाडि बढ्ने बताएपछि त्यहीबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हाे।