द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, फागुन २१ गते ।
नायिका प्रियंका कार्कीले धनुषामा २ सय छात्रछात्रालाई स्कुल ब्याग वितरण गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाले आयोजना गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रममा धनुषाधाम नगरपालिका-६ को निम्न माध्यमिक विद्यालय हरिपुर र सोही नगरपालिका- १ को निमावि मंग्राहाका विद्यार्थीलाई नायिका कार्कीले स्कुल ब्याग वितरण गरेकी हुन् ।
आयंका फाउन्डेसनको सहयोग रहेको कार्यक्रममा २ सय जना विद्यार्थीलाई स्कुल ब्याग र ३६ जना छात्रलाई सेनेटरी प्याड वितरण गरिएको थियो । फाउन्डेसनले छात्राहरुको लागि ६ ओटा शौचालय समेत हस्तान्तरण गरेको छ।
समाजिक संस्था आयंका फाउन्डेसनले पञ्चकन्या ग्रुपको सहयोगमा धनुषाधाम नगरपालिकाका दुई विद्यालयमा छात्राको लागि ६ शौचालय निर्माण गरेर सोमबार औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरेको हो।
फाउन्डेसनकी अध्यक्ष एवम् नेपाली चलचित्रकी नायिका समेत रहेकी प्रियंका कार्कीलाई विद्यालयका विद्यार्थी एवम् कर्मचारीहरुले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा राखे । नायिका कार्कीले सेनिटरी प्याड प्रयोग गर्ने विधि समेत सिकाएकी थिइन्।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनाल विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला, समाजसेवी शिक्षक र विद्यार्थीलगायतको उपस्थिति रहेको थियो।