काठमाडौं, असार ५ गते । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग सर्लाहीमा प्रहरीको दोहोरो भीडन्त भएको छ ।
जिल्लाको लालबन्दीमा दुवै पक्षबीच दोहोरो भीडन्त भएको हो । भीडन्तमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले झडपमा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको बताए । पोखरेलका अनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको थियो ।
पोखरेलले विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको बताए । घटनापछि तीन जना जंगलतर्फ भागेको बताइएको छ । नम्बर नखुलेको एफजेट बाइक र ना २२ प ६४ नम्बरको निलो पल्सर बाइकमा उनीहरु सवार रहेको बताइएको छ ।
यसैबीच घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीसहितको टोली पुगेको प्रदेश नम्बर २ का प्रहरी प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिए । यसअघि भोजपुरमा विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको प्रहरीसँगको भिडन्तमा मृत्यु भएको थियो ।