काठमाडौं, असार १० गते – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अन्तर्राष्ट्रिय विभागका सदस्य तथा प्रस्तावित केन्द्रीय सदस्य नरबहादुर कार्की पक्राउ परेपछि नायिका रेखा थापाले आक्रोश व्यक्त गरेकी छिन्।
कार्की पक्राउ परेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायिका थापाले पक्राउको विरोध गरेकी हुन्। उनले लेखेकी छिन्, ‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज। सामाजिक अभियन्ता अन्तर्राष्ट्रिय मोटिभेटर नरबहादुर कार्कीलाई एक अपराधी जसरी प्रहरीले पक्राउ गरेको छ। कुनै व्यक्ति कुनै पार्टीका नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो?’
कार्कीलाई सोमबार बालुवाटारस्थित एक रेस्टुरेन्टबाट प्रहरीले पक्राउ गरेको थियो। विप्लव नेतृत्वले आह्वान गरेको असार १० गतेको नेपाल बन्दको पूर्वसन्ध्यामा उनी पक्राउ परेका थिए।
कार्की नायिका रेखा थापाले अभिनय गरेको फिल्म ‘मालिका’का निर्मातासमेत हुन्।