गुणस्तरहीन काम भएपछि सांसदले भत्काए पर्खाल

भोजपुर, चैत्र १ गते । गुणस्तरहीन काम भएपछि प्रतिनिधिसभा सदस्य सुदन किराँतीले विद्यालयको पर्खाल भत्काइदिनु भएको छ । पर्खाल निर्माणमा चित्तबुझ्दो काम नभएको भन्दै सदस्य राईले बहिरा आवासीय विद्यालयमा बनेको पर्खाल भत्काउनु भएको हो ।

पर्खाल बनाउँदा बालुवा तथा सिमेन्ट कम प्रयोग भएको आरोप सांसद किराँतीले लगाएका छन् । ‘पर्खाल निर्माणमा लापर्वाही भएको छ, निर्माणकै क्रममा भत्किन थालेको छ’, सांसद किराँतीले भन्नुभयोे, ‘पुनःनिर्माण नगरेमा बजेट रोक्का गरी दिने साथै आवश्यक कदम अघि बढाइन्छ ।’

समितिले पुरानो पर्खालमाथि नै घेराबारको स्टमेट गरेपछि टिकाउ नहुने र काम गुणस्तहीन भएको भन्दै पटक–पटक पर्खाल निर्माण समितिका अध्यक्ष दिपा सुवेदी (शर्मा) फोन गर्दा समेत फोन नउठेका बहिरा संघ भोजपुरका अध्यक्ष सिताराम ओझाले बताउनुभयो । पटक– पटक सम्पर्क गर्न खोज्दा समेत कुनै जानकारी नआएपछि काम निरीक्षणका लागि सांसद सुदन किराँतीलाई बोलाउनुपरेको अध्यक्ष ओझाले बताउनुभयो ।

प्राविधिकको स्टमेट अनुसार काम गरेको र प्राविधिकका इस्टमेटअनुसार नै काम भइरहेको पर्खाल निर्माण समितिका अध्यक्ष दिपा सुवेदी (शर्मा)ले बताउनुभयो । शर्माले भन्नुभयो, ‘असहायहरुकोे कुरा सुनेर माननीयले त्यसो गर्नुभयो त्यो उहाँको नैतिकताले दिने हो कि होइन, हामी यस कामलाई पार लगाएरै छाड्नेछाैँ ।’

भोजपुर जिल्लामा आर्थिक वर्ष ०७५/०७६ मा हुने योजनाहरुको छनौट गरी पूर्वाधार क्षेत्र विकास कोषबाट भोजपुर नगरपालिका वडा नं. ९ भोजपुरमा बहिरा विद्यालय भवनको पर्खाल निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो ।

त्यस विद्यालयमा एक जना शिक्षक, एक जना आया (खाना बनाउने) र १० जना बहिरा विद्यार्थीहरु रहेका छन् । पर्खाल निर्माणको काम गएको माघ २० गते बाट सुरु भएको थियो । साभार : उज्यालाे अनलाइन

Scroll to Top