काठमाडौँ, भदौ २६ गते ।
नेपाल पत्रकार महासङ्घले तत्कालको सङ्क्रमणकालीन अवस्थाको अन्त्य गर्दै शान्तिपूर्ण रूपमा विद्यमान समस्या समाधान गर्न राष्ट्रपतिलाई संवैधानिक र राजनीतिक रूपमा निकासका लागि पहल गर्न आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष निर्मला शर्माले आज एक विज्ञप्ति जारी गर्दै मूलतः वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरूमार्फत समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्ने माग गरिएको हो ।
मुलुकको निकास गर्ने क्रममा राष्ट्रपतिले वार्ताका लागि जेनजी प्रतिनिधिलाई आह्वान गरिसक्नुभएको अवस्थामा सुरक्षा निकायले सहजीकरण गरी यथाशीघ्र अन्तरिक सरकार बनाउने कार्यको पहल राष्ट्रपतिबाट हुनुपर्नेमा महासङ्घले जोड दिएको छ ।
यस प्रक्रियाका लागि सहजीकरण गर्न पत्रकार महासङ्घलगायत छ वटा पेसागत सञ्जाल पापड तयार रहेको जनाइएको छ । “सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जङ्गी अड्डाबाट होइन भन्ने महासङ्घको ठहर छ । पछिल्लो समय शान्तिसुरक्षा कायम गर्न सेनाले खेलेको भूमिका सराहनीय छ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागलाई समेट्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्न जरुरी रहेको उल्लेख गर्दै महासङ्घले संयम र संवेदनशील भएर इतिहासको यो कठिन र निर्णायक मोडमा जिम्मेवार बन्न सबै सरोकार भएका पक्षलाई हार्दिक अपिल गरेको छ ।
महासङ्घ लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि निरन्तर वकालत गर्दै आएको भन्दै अहिले सरकारले राजीनामा दिएको र अर्को सरकार बनिनसकेकाले मुलुक सङ्क्रमणकालीन अवस्थामा रहेको अवस्थामा शीघ्र मुलुकको निकास खेज्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
महासङ्घले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर भएको युवा पुस्ताको प्रदर्शनका क्रममा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधैँ क्रियाशील रहने पत्रकारहरू र सञ्चारमाध्यमलाई प्रदर्शनकारीले निशाना बनाइएको दुःखद् भएको अध्यक्ष शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।