ढल्केवरको जनकपुर रिफाइनरीमा भीषण आगलागी, करोडौंको क्षति



द पब्लिक टुडे
ढल्केवर, बैशाख ३ गते ।

धनुषाको ढल्केवरस्थित रहेको जनकपुर रिफाइनरी इण्डष्ट्रिजमा भीषण आगलागी भएको छ । बिहिबार राति करिब १० बजेको समयमा उद्योगमा आगलागी हुँदा करिब १५ करोड बराबर क्षति भएको जनकपुर रिफाइनरी इण्डष्ट्रिज प्रबन्धक सन्जय गुप्ताले जानकारी दिए ।

जनकपुर, महेन्द्रनगर र ढल्केवर गरी पाँचवटा वारुण यन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रबन्धक गुप्ताले बताए । उनका अनुसार आगलागीबाट स्टिम र थर्मोफुल गरी दुईवटा बोइलरमा क्षति भएको हो । ‘दुईवटा बोइलर कामै नलाग्ने गरी क्षति भएको छ । त्यसरी हेर्दा पनि करिब १५ करोड बराबरको क्षति भएको हो,’ प्रबन्धक गुप्ताले भने ‘क्षतिको एकिन विवरण निकाल्न एक–दुईदिन समय लाग्छ ।’

आगलागी कसरी भयो भन्ने कारण खुल्न नसकेको र त्यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

Scroll to Top