बजेट अभाव, अब गैँडा गणना अर्को वर्ष



चितवन, वैशाख २८ गते ।

बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो ।

गैँडा गणना आनुवंशिक ‘जेनेटिक’ विधिबाट गरिन्छ । बर्खा लागेसँगै कार्यक्षेत्रमा खटिएर गणना गर्न नसकिने भएकाले अर्को वर्षमात्रै गरिनेछ । गणनाको काम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्छ ।

विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैँडा गणना गर्न आवश्यक ‘प्रोटोकल’ बनाउने निर्णय गरेको छ । समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले प्रोटोकल तयार गर्नका लागि छलफल सुरु भइसकेको जानकारी दिए ।

आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर (मल) सङ्कलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिङ्ग पहिचान गर्ने गरिन्छ । एउटा गैँडा र अर्कोको गोबरको ‘जेनेटिक स्ट्रक्चर’ फरक हुने गर्दछ । आचार्यका अनुसार सामान्यतया गैँडाले एकै ठाउँमा दिसा गर्छन् । ती ठाउँहरुको पहिचान गरी सिसी क्यामरा जडान गरेर पटकपटक गोबर सङ्कलन गरिन्छ । यी सबै कामलाई कसरी गर्ने भन्ने विषय प्रोटोकलमा उल्लेख गरिने उनले जानकारी दिए ।

मुख्य रुपमा चितवन राष्ट्रिय निकुञ्जमा यो विधिबाट गैँडाको गणना गरिने छ । ठूलो क्षेत्र भएकाले कति प्रतिशत भूभागबाट गोबर सङ्कलन गर्ने भन्ने विषय प्रोटोकलमा निर्धारण गरिने छ । गैँडाको वासस्थान, खोलाको किनार, घाँसेमैदान, नदी तटीय वन क्षेत्र हुने गर्दछ । नेपालका चार निकुञ्जमा गैँडा पाइन्छन् । बर्दिया, शुक्ला र पर्सामा प्रत्यक्ष रुपमा हेरेर गणना गर्न सकिने भएकाले यो बिधि चितवन राष्ट्रिय निकुञ्जमा मात्र प्रयोग गरिने छ ।

नेपालमा यो विधिबाट हिउँ चितुवाको मात्रै गणना गरिँदै आएको छ । विगतमा गणना गर्दै आएको विधिभन्दा कम खर्चिलो र सुरक्षित हुने जनाइएको छ । विगतमा ब्लक छुट्याएर प्रत्यक्ष गणना विधि प्रयोग गरिँदै आएको थियो । यो विधिबाट गणना गर्दा निकै खर्चिलो हुने र जोखिमपूर्ण हुने गरेको छ ।

आचार्यका अनुसार सन् २०२१ मा गैँडा गणना गर्दा रु तीन करोड हाराहारी खर्च भएको थियो । सो क्रममा एक जना प्राविधिक हात्तीबाट लडेर गम्भीर घाइते भएका थिए । यसरी गणना गर्दा तीन साता लाग्छ । त्यसमा ठूलो सङ्ख्यामा हात्तीलगायतका सवारीसाधनसहित प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ ।

आचार्यले अहिलेसम्म प्रयोग गरिएको प्रत्यक्ष र ‘फोटो आइडी’ विधिबाट भन्दा आनुवंशिक विधिबाट गणना गर्दा वैज्ञानिक आधारमा सबैले मान्ने विधि भएकाले यसतर्फ विभागको ध्यान गएको बताए ।

सन् २०२१ मा गरिएको गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब १०० को हाराहारीमा झरेको थियो ।

नेपालमा सन् १९५० को दशकमा ८०० गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८ र शुक्लाफाँटमा १८ पुगेको थियो ।

Scroll to Top