द पव्लिक टुडे
जलेश्वर, जेष्ठ २९ गते ।
सरकारी सूचना तथा विज्ञापन वितरणमा सरकारको विभेदकारी तथा स्वेच्छाचारी निर्णयको विरोधमा महोत्तरीक सञ्चारकर्मीहरुले शुक्रबार दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासको नेतृत्वमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा शुक्रबार पनि बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिएका हुन् ।
धर्नामा सहभागी नेपाल पत्रकार महासंघका मधेश प्रदेशका प्रदेश परिषद् सदस्य रञ्जन भण्डारीले सरकारले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि प्रहार गरेर जनताको आवाज दबाउने प्रयास गरेको बताए ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासले सरकारले चैत १८ गते जारी गरिएको पत्राचारका कारण देशभरका सञ्चार गृह बन्द हुने अवस्था आएको बताए ।
उनले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरे ।
धर्ना कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, सञ्चार उद्यमीहरुको उपस्थिती रहेको थियो ।





