ऐतिहासिक तलाउ मासिँदै

File Photo



बाँके, असार १ गते ।

अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा भूमिगत पानीको स्रोत जोगाउन ताल तलैयाको संरक्षण गर्नुपर्ने बेला यहाँका पुराना ऐतिहासिक तलाउहरू मासिने क्रम बढेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–८ रङ्गशाला नजिकै रहेको ऐतिहासिक धोबीताल संरक्षणको अभावमा यति बेला सङ्कटमा परेको छ । कुनै समय नेपालगन्जका धोबी समुदायले कपडा धुने र स्थानीयले सिङ्गडाखेती गर्ने यो ताल पछिल्लो समय संरक्षण नहुँदा पुरिँदै गएको छ ।

करिब ६ कट्ठा क्षेत्रफलमा फैलिएको यो तालमा पछिल्लो समय माटो पटान गर्ने र वडाभित्रको फोहर जम्मा गरेर थुपार्ने काम भइरहेको छ । तालमा फोहर थुपारिएपछि निस्किएको दुर्गन्धका कारण आसपासका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको स्थानीय उषाकुमारी खड्काले बताइन् ।

“केही वर्षअघिसम्म तालभरि पानी भरिन्थ्यो, लुगा धुने, सिङ्गडाखेती गर्ने काम हुन्थ्यो”, खड्काले विगतलाई सम्झिँदै भनिन्, “अहिले तालको बिजोग भएको छ, घरै अगाडि रहेको तालमा फोहर फालेर दुर्गन्धले बस्नै कठिन भइरहेको छ ।”

उपमहानगर र वडा कार्यालयले पटकपटक आग्रह गर्दा पनि फोहर फाल्ने काम नरोकिएको र घरभित्रै बस्न नसक्ने अवस्था आएको उनको गुनासो छ । तलाउलाई माटोले पुरेर अहिले तरकारी व्यापारीले मालवाहक साधन पार्किङस्थल बनाएका छन् ।

नेपालगन्जका अन्य वडामा पनि प्राकृतिक तालहरू मासेर भौतिक संरचना बनाउने कार्य भइरहेको छ । गगनगन्जको भगवान तलाउ मासेर स्वास्थ्यचौकी बनाइएको छ भने हनुमानगढी छेउको तलाउमा १०८ फिटे हनुमानको मूर्ति निर्माण भइरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले प्राकृतिक तालतलैया संरक्षणमा आफूले ध्यान दिँदै आएको बताए । उनले धोबीताल नपुर्न र त्यहाँ फोहर नफाल्न वडा कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । उहाँले स्थानीयको मागलाई कदर गर्दै आगामी आर्थिक वर्षको बजेटमा धोबीताल संरक्षणका लागि रकम व्यवस्था गर्ने आश्वासनसमेत दिएका छन् ।

Scroll to Top