द पब्लिक टुडे
गौशाला, असार १ गते ।
महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारको जेष्ठ महिनाको उत्कृष्ट शिक्षक तथा विभिन्न खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
विद्यालयले जेष्ठ २०८३ महिनाको उत्कृष्ट शिक्षकका रूपमा दिनेश साहलाई सम्मान गरेको हो विद्यालयले जनाएको छ । उनको शिक्षण, अनुशासन तथा विद्यालयप्रतिको समर्पणको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
त्यसैगरी, जिल्ला छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको नाम उजागर गरेका कबड्डी खेलाडी रानी शर्मा, सुरती महतो र आंशिक विश्वकर्मालाई विशेष सम्मान गरिएको छ । यस्तै, दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सुशील शर्मा समेत सम्मान गरिएको विद्यालयले जनाएको छ ।
सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम स्नेही यादव लगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रधानाध्यापक यादवले सम्मानित शिक्षक तथा विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गरे ।
विद्यालयले यस्ता सम्मान कार्यक्रमले शिक्षक र विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा तथा प्रतिस्पर्धात्मक भावना विकास हुने विश्वास व्यक्त गरेको छ ।





