द पब्लिक टुडे
गौशाला, असार १ गते ।
महोत्तरीको जलेश्वरमा आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण ऐन तथा स्तनपान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा नेपाल पत्रकार महासङ्घको सभा हलमा आईतवार कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित बिक्री–वितरणले शिशु स्वास्थ्यमा पार्न सक्ने असर, स्तनपान प्रवर्द्धनको आवश्यकता तथा प्रचलित कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनबारे वक्ताहरुले जानकारी गराइएको थियो ।

यस्तै, वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी, व्यवस्थित र उपभोक्तामैत्री बनाउन कानुनी प्रावधानहरूको समेत चर्चा गरिएको थियो ।
वक्ताहरूले शिशुको स्वस्थ वृद्धि तथा विकासका लागि जन्मदेखि नै आमाको दूध अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै स्तनपानलाई प्रवर्द्धन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए । साथै, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको अनियन्त्रित प्रचार–प्रसार तथा बिक्री–वितरणलाई ऐनले नियमन गरेको विषयमा समेत जानकारी गराइएको थियो ।

नेपाल पत्रकार महासङ्घ महोत्तरीका सचिव रामनारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आमाको दूधको महत्व, शिशुको स्वास्थ्यमा स्तनपानको भूमिका तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री–वितरण सम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराइएको थियो ।
कार्यक्रम समापन गर्दै सचिव महतोले आमाको दूधको महत्व, शिशुको स्वास्थ्यमा स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यम तथा स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला स्वास्थय कार्यालय महोत्तरीका फोकल पर्सन प्रतिभा सिंह, जिल्ला अदालत महोत्तरीका इजलास अधिकृत आर्या निरौला, विभिन्न पालिकाका स्वास्थ्य शाखाका प्रमुख, स्वास्थ्य स्वंयमसेविका, औषधी व्यवसायी, संचारकर्मी लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।





