मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाको शानदार सुरुवात



काठमाडौं, असार ३ गते ।

कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा शानदार सुरुवात गरेको छ ।

अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

छैटौं पटक विश्वकप खेल्दै कीर्तिमान बनाएका मेसीले विश्वकपमा पहिलो पटक ह्याट्रिक गरे । साथै उनले विश्वकपमा सर्वाधिक १६ गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान पनि बराबरी गरे ।

उनले खेलको १७औं, ६०औं र ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

खेलको सुरुवातमै मेस्सी एक गोल गरेपनि अफसाइडका कारण मान्यता पाएको थिएन ।

यस्तै अफसाइडका कारण अल्जेरियाका खेलाडीले गरेको एक गोलले पनि मान्यता पाएको थिएन । यो जितसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूह जे मा शीर्ष स्थानमा छ ।

यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन् ।

सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए ।

उनले सन् २०१० को विश्वकपबाहेक पाँच विश्वकपमा गोल गरेका छन् । चार वर्षअघि कतारमा मेस्सीले आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए ।

यस्तै विश्वकपमा मेस्सीले कीर्तिमानी २७औं खेल खेलेका छन् ।

Scroll to Top