काठमाडौँ, साउन ९ गते ।
असार महिनाकै विद्युत् बिलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चासो दिएका छन्।
आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युतमा भ्याट लागू हुने व्यवस्था गरिएको छ। तर, असार महिनाको विद्युत् खपतमासमेत भ्याट जोडेर बिल आएपछि जनगुनासो बढेको छ।
असार महिनामा खपत भएको विद्युतको बिल साउनको पहिलो सातामा जारी गर्दा भ्याट समावेश गरिएको भन्दै उपभोक्ताले गुनासो गरिरहेका छन्। यसलाई लिएर मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई विषयको कानुनी र व्यवहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिएका थिए।
मन्त्री श्रेष्ठको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले असार महिनामा खपत भएको विद्युतको बिल साउन महिनामा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषयमा स्पष्ट कानुनी व्याख्या खोज्दै आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको छ। यससँगै न्यूनतम डिमान्ड चार्जमा पनि भ्याट लागू हुने वा नहुने विषयमा समेत विभागको धारणा मागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आन्तरिक राजस्व विभागबाट प्राप्त हुने आधिकारिक रायका आधारमा आगामी महिनाको बिलमा आवश्यक मूल्य समायोजन गरिनेछ। यसबाट उपभोक्ताबाट उठेका गुनासोको समाधान हुने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।





