चुच्चे नक्सासहित तयार भयो नयाँ सिक्का



काठमाडौं, साउन ९ गते ।

सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन मन्त्रिपरिषद् बैठकबाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगिसकेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बासहित तस्वीर राख्नेगरी स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको थियो । राष्ट्र बैंकलाई एक रुपैयाँको सिक्काको प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव बनाएर ल्याउन सरकारले भनेको थियो ।

राष्ट्र बैंक ऐनमा कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्दा वा डिजाइन परिवर्तन गर्दा त्यसलाई मन्त्रिपरिषद्‍बाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले नयाँ सिक्कामा नेपालको नक्सा नहट्ने जानकारी आफूलाई रहेको बताए ।

‘नेपालको नक्साबिना नयाँ सिक्काको डिजाइन बन्दैन भन्ने कुरा मेरो जानकारीमा आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘तर, तौल र आकारमा परिवर्तन गरिँदैछ ।’

हाल रहेको एक रुपैयाँको सिक्का तयार पार्दा त्यो भन्दा बढी मूल्य पर्न गएकाले भार कम गर्नेगरी तौल र आकारमा परिमार्जन गर्न लागिएको पनि उनले बताए ।

‘यसअघि पनि केही तौल घटाउन खोजेका थियौं । अहिले एक रुपैयाँको सिक्कालाई पैसाभन्दा पनि बढी पर्छ,’ उनले भने, ‘अहिले भइरहेको सिक्कामा प्रयोग भएको धातु भनेको मिश्रित हो । त्यो धातुलाई हामीले परिवर्तन गरेर स्टिल मात्रै राख्न खोजेको हो ।’

यो परिवर्तन गरेसँगै मूल्यमा कमी आउने र वातावरणीय हिसाबले पनि उत्कृष्ट मानिने उनले बताए ।

सिक्कामा ६४ वटा थोप्ला हुन्छन्, जुन ६४ योगिनीको प्रतिक मानिन्छ । उनले थपे, ‘सिक्कामा हुने तस्वीरकोसांस्कृतिक महत्व हुन्छ । सिक्का आफैंमा ऐतिहासिक चिज मानिन्छ । सिक्कामा प्रयोग हुने चिजले विशेष अर्थ राख्छन् ।’

विगतमा पनि सरकारले नयाँ सिक्का बनाउँदा केही कुराहरू परिमार्जन गर्ने गरेको उनी स्मरण गर्छन् । यद्यपि स्पष्ट अर्थ राख्ने रणनीतिक नीति भने सरकारले लिएको निर्णयमा भर पर्ने उनी बताए ।

Scroll to Top